डोटीको जोरायलमा खानेपानी परीक्षण प्रयोगशाला उद्घाटन
चैत्र ८, डोटी ।
डोटीको जोरायलमा खानेपानी परीक्षण प्रयोगशाला उद्घाटन गरिएको छ ।
“Ground water : making the Invisible visible” अर्थात ‘भूमिगत पानी अदृष्यलाई दृष्य बनाऔं’ भन्ने मूल नाराका साथ मंगलबार मनाईएको विश्व जल दिवसको अवसरमा युनिसेफको सहयोगमा जोरायल गाउँपालिका नजिकै स्थापना गरेको प्रयोगशालाको उद्घाटन गरिएको हो ।
प्रयोगशालाको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरेको युनिसेफका वास फोकल प्वाइन्ट निर्मल कुमार भाटले जानकारी दिए ।

प्रयोगशाला उद्घाटनको दिन सो गाउँपालिकाको रावतकट्टे र सेगुनी गाउँबाट ल्याईएको पानी परीक्षण गरिएको छ ।
प्रयोगशालामा खानेपानी परीक्षण गर्न ‘वागटेक’ नामक मेशिन राखिएको छ भने प्रयोगशाला सञ्चालनका लागि युनिसेफका निर्मल कुमार भाट, खानेपानी प्राविधिक सुरेन्द्र चन्द र स्वास्थ्य शाखा प्रमूख गोबिन्द बिष्टलाई प्राविधिक तालिम समेत दिईएको जनाईएको छ ।
नेपालको संविधान बमोजिम ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भनी मौलिक हकका रुपमा समावेश गरिएको छ ।
प्रयोगशालाको उद्घाटन गर्दै जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले दिगो विकास लक्ष्य (सन् २०१६–२०३०) का १७ वटा लक्ष्यमध्ये छैठौं लक्ष्य ‘सबैलाई खानेपानी तथा सरसफाइको उपलब्धता र दिगो व्यवस्थापनको सुनिश्चित गर्ने” लक्ष्यलाई गाउँपालिकाले पनि आत्मसात गरी आफ्ना योजना र कार्यक्रमहरु अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाभित्र सामुदायिक स्तरमा खानेपानी सुरक्षित योजना निर्माण र कार्यान्वयन तथा विद्यालय स्तरमा खानेपानी र सरसरफाइका क्षेत्रमा काम गर्दै आएको छ ।
जस अन्तरगत जोरायल गाउँपालिका वडा नं. ४ को खैगाड गाउँलाई सुदूरपश्चिम प्रदेशकै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको छ भने वडा नं. ३ को अवस्थी गाउँलाई पनि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको छ । त्यस्तै थप ५ वटा गाउँलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने तयारी भईरहेको जनाईएको छ ।
यस्तै विद्यालयमा ‘तीन तारे’ विद्यालय घोषणाको अवधारणा अनुसार पनि काम भईरहेको जनाईएको छ । जसमा सुरक्षित खानेपानीको नियमित उपलब्धता, बालमैत्री धाराहरु, शौचालयको उचित प्रयोग, सरसफाई, विपत जोखिम व्यवस्थापन, दिवा खाजा लगाएतका विभिन्न १० वटा सुचकहरु रहेको र ती सूचक पूरा गरेमा तीन तारे विद्यालय घोषणा गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
हालसम्म जोरायल गाउँपालिका वडा नं. ४ मा रहेका बेताल आधारभूत विद्यालय बिनोडालाई तीन तारे घोषणा गरिसकेको र अब थप ५ वटा विद्यालयलाई पनि तीन तारे घोषणा गर्ने तयारी रहेको जनाईएको छ ।
