मूख्यमन्त्री भट्टको गृह वडामा रित्तियो माओवादी, महत्वपूर्ण नेता र बहुमत वडा कमिटी सहित झण्डै ३ सय जना एमाले प्रवेश
बैशाख १३, डोटी ।
नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री रहेका नेता त्रिलोचन भट्टको गृह वडामा माओवादी केन्द्र रित्तिएको छ ।
मूख्यमन्त्री भट्टको गृह वडा डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ६ का महत्वपूर्ण नेता, वडा कमिटीका बहुमत नेता कार्यकर्ता र स्थानीय गरी करिब तीन सयको संख्यामा नेकपा एमाले प्रवेश गरेपछि माओवादी रित्तिएको हो ।
स्थानीय तहको निर्वाचन २०७९ को मुखैमा यति ठूलो संख्यामा एमाले प्रवेश गरेपछि एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले मंगलबार गाउँमै पुगेर स्वागत तथा बधाई ज्ञापन गरेका छन् ।
एमाले प्रवेश गर्नेहरुमा तत्कालिन नेकपा हुँदाका डोटी जिलला प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का संयोजक एवं माओवादी केन्द्रका वैकल्पिक प्रदेश कमिटि सदस्य महेश्वर भाट, तत्कालिन नेकपा हुँदाका युवा संघ नेपालका डोटी जिल्ला अध्यक्ष एवं वाइसिएलका केन्द्रिय सदस्य गोबिन्द खड्का, माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य जगत बहादुर बलायर, गणेश खड्का लगाएत के.आई.सिंह गाउँपालिका कमिटीका ७ जना सदस्यहरु, वडा नं. ६ को कमिटीका अध्यक्ष हरिष खड्का सहित २९ सदस्यीय कमिटिका २४ जना र स्थानीय विभिन्न टोल समितिका कार्यकर्ता तथा समर्थकहरु गरी करिब ३ सय जना एमाले प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रले लिएको नीति तथा गलत व्यवहारप्रति आफुहरु रुष्ट भएकाले एमालेमा समाहित भएको युवा नेता गोबिन्द खड्काले नजर अनलाइनलाई प्रतिक्रिया दिए ।
अँझै रोचक माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेता गणेश बहादुर खड्काले हिजो सोमबार वडा अध्यक्ष पदका लागि एमालेबाट मनोनयन दर्ता समेत गराईसकेका छन् । त्यस्तै वडा सदस्यमा रुपक बहादुर बलायर, सदस्यमा मन्धरादेवी भाट, महिला सदस्यमा खेमादेवी भट्टले पनि मनोनयन दर्ता गराईसकेका छन् ।
वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा के.आईं.सिंह गाउँपालिकामा गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म नेपाली काँग्रेसले अन्य दलहरुलाई नील गर्दै जीत हात पारेको थियो ।
यसपटकको निर्वाचनमा नेकपा एमालेमा माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता, कार्यकर्ता र समर्थकहरु प्रवेश गरेकाले उक्त वडामा एमालेको जित सुनिश्चित रहेको एमाले डोटीका अध्यक्ष मल्लले दावी गरेका छन् ।
यस पटकको निर्वाचनमा उक्त गाउँपालिकामा अन्य स्थानमा पनि एमालेले जीत हात पार्ने एमालेले जनाएको छ ।