दिपायल सिलगढी ६ को वडा भेला सम्पन्न, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटनलाई प्राथमिकता

533

जेठ ३१, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को सहभागितात्मक योजना तर्जुमा कार्यक्रम अर्थात वडा भेला सोमबार सम्पन्न भएको छ । भेलाले शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटन लगाएतका क्षेत्रमा प्राथमिकतामा राखेको छ ।
कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण सिंहले सिलगढीका पूराना मोडेलका घरहरुमा थोरै घरबाट भए पनि स्थानीय विशेष परिकारको स्वाद लिन सकिने गरी होम स्टेका रुपमा शुरु गर्नुपर्नेमा जोड दिए ।

May be an image of 7 people and people standing
नगरपालिकाको वडा भेला भनेको वडाबासी र नगरबासीहरुको भविष्यको रेखा कोर्ने दिन भएकाले वडा भेलामा सबैले सहभागिता जनाई शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत कुराहरुलाई प्राथमिकताका आधारमा योजना बनाई कार्यान्वयन गरिनपर्नेमा उनले जोड दिए ।
दिपायल सिलगढी नगरपालिकाको वडा नं. ६ मा प्रस्तावित इन्जिनियरिङ् कलेजलाई अगाडी बढाउन वडा नं. ६ ले विशेष भूमिका खेल्नुपर्नेमा जिसस प्रमूख सिंहले जोड दिए । साथै हरेक काममा आर्थिक पारदर्शिता अपनाएर जनप्रतिनिधीहरुले सबैका साझा प्रतिनिधी बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले वडा भेला भनेको वडाको समग्र विकासको रेखाङ्कन गर्ने दिन भएको बताए ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ जिल्लाको सदरमुकाममा रहेको वडा भएको र प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शैलेश्वरी पनि यसै वडामा भएकाले यस वडालाई पर्यटकीय हिसाबले विकास गर्न जरुरी रहेको उनले बताए । साथै प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तड प्रवेशद्वार पनि दिपायल सिलगढी नगरपालिका वडा नं. ६ बाटै भएकाले उक्त वडा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको बताए ।

May be an image of 8 people, people standing and indoor
खास गरी आफुले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, खानेपानी लगाएतका विषयलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने उनले प्रतिवद्धता जनाए ।
खासगरी भौतिक विकासलाई मात्रै विकासका रुपमा हेर्ने प्रचलन गलत भएको भन्दै आफुले भौतिक विकाससँगै मानसिक, सामाजिक, साँस्कृतिक, राजनीतिक सर्बपक्षीय विकासका लागि जोड दिने वडा अध्यक्ष मलासीले बताए ।
वडाका विभिन्न टोल भेलाबाट आएका सबै योजना समेट्ने भन्दा पनि प्राथमिकताका आधारमा ठोस योजना मात्रै छनौट गरिने र योजना कार्यान्वयनका क्रममा सबैलाई समेटेर उपभोक्ता समिति गठन गरी काम गरिने वडा अध्यक्ष मलासीले बताए । साथै कुनै पनि योजनामा कोठे योजना बनाईएमा आफुले च्यातेर फाल्ने मलासीले अठोट व्यक्त गरे ।
काम गर्ने क्रममा आफुलाई सबैबाट रचनात्मक सुझाव, सल्लाह आवश्यक भएको बताउँदै वडामा काम गर्ने संघसंस्थाहरुसँग पनि आफुले बसेर योजनाबद्ध तवरले अगाडी बढ्ने उनले बताए ।

May be an image of 4 people, people sitting and people standing
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा विभिन्न प्रकारका करिब ३ सय जति योजना टोल भेला र सँस्थागत तवरले माग भएर आएको सो वडाका वडा सचिव राज बहादुर खड्काले बताए ।
भीमसेन मन्दिरको हलमा आयोजित वडा भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, सरकारी तथा गैर सरकारी संघसँस्थाका प्रतिनिधी, पत्रकार लगाएत विभिन्न सरोकारवालाहरु र स्थानीयको सहभागिता रहेको थियो ।
वडा भेलाको बन्द शत्र जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.