धुमधाम मेला लाग्ने डोटीको प्रसिद्ध घण्टेश्वरमा यस वर्ष पूजाआजा मात्रै गरिने

553

झलक पाली
भाद्र ११, डोटी ।

डोटी र डडेल्धुराको सिमाना नजिकै महाभारत लेकमा अवस्थित सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल घण्टेश्वरमा यस वर्ष सामान्य पूजाआजा मात्रै हुने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेला यस वर्ष विश्वव्यापी कोरोना महामारीका कारण पूजाआजा मात्रै गरिने स्थानीय पासा देवताका धामी देव सिं पालीले जानकारी दिए ।
मेलाको पूजाआजाका लागि राजारजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत खर्च रकम पठाइँदै आएकामा त्यसै व्यवस्था अनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ ।
यता मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा तिलख पठाउने प्रचलन रहेको छ ।
भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर घण्टेश्वर देवतालाई त्यो ठाउँमा बास बसाएको त्यहाँका बूढापाकाको भनाइ छ ।
डोटीको जोरायल गाउँपालिका १ अन्तरगत पर्ने सो मेलामा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । शुद्ध मनले मागेको वर प्राप्ती हुने विश्वास सहित उक्त मेलामा डोटी, डडेल्धुरा, कैलाली कञ्चनपुरका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजन आउने गरेका गर्दछन् । पवित्र मनले उपवास बसी घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
मेलामा रातभर महिला र पुरुषहरुले छुट्टाछुट्टै रुपमा सुदूरपश्चिमेली देउडा खेल्ने प्रचलन छ । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको हगुल्टेबाट करीब चार किलोमिटरको दूरीमा रहेको घनघोर जङ्गलको बीचमा अवस्थित छ । सो क्षेत्रमा वर्षा नभएको बेलामा समेत लेकाली खर्सुका रुखबाट पानीका थोपा निरन्तर खसिरहन्छन् ।

उक्त मन्दिरसम्म पुग्न गत वर्षदेखि कच्चि सडक पुगेको छ । यद्यपी सो क्षेत्रमा बिजुली, खानेपानी र अन्य भौतिक पूर्वाधारको अभाव रहेको छ ।
मन्दिर क्षेत्रको विकासका लागि स्थानीयबासी एवं इन्जिनियर तेज पालीले आफ्नै लगानीमा गत वर्ष डिपिआर तयार भईसकेको जनाएका छन् ।
डिपिआरका आधारमा आवश्यक बजेट व्यवस्थाका लागि नेपाल सरकार र अन्य सम्बन्धीत निकायमा बजेट व्यवस्थाका लागि पहल भईरहेको पनि इन्जिनियर पालीले जानकारी दिए ।
सडक सुविधा पुगेपछि श्रद्धालु भक्तजनको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको थियो । तर कोरोना भाईरस संक्रमणको जोखिमका कारण यो वर्ष देवताको कामको जिम्मेवारी प्राप्त व्यक्ति बाहेक अरु श्रद्धालु भक्तजनहरु मेला भर्न नपाउने भएका छन् ।

Leave A Reply

Your email address will not be published.