बालविवाह तथा लागू औषध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

357

प्रेम नेपाली/भाद्र ८, डोटी ।
डोटीमा बुधबार बालविवाह तथा लागू औषध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा जिल्ला प्रहरी कार्यालय डोटीको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बालबालिकाको उमेर भनेको पढाईमा बढी ध्यान दिने, रमाईलो गर्ने र भोलि गएर देश चलाउने कर्णधार भएकाले समाजमा बालबिवाह, घरेलु हिंसा, लैङ्गिक हिंसा, लागु औषध जस्ता विषयहरु न्यूनीकरण गर्नतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जिल्लाभरी विभिन्न सामाजिक संघसंस्थाहरुले प्रहरी सङ्ग मिलेर यस्ता सचेतनामूलक कामहरू गर्नुपर्नेमा जोड दिए ।
यद्यपि थुप्रै कार्यक्रमहरु संचालन हुँदै आएका भएपनी आफुहरुलाई कम जानकारी आउने गरेको उनलेे बताए । जिल्ला प्रहरी कार्यालयले विभिन्न संस्थाहरुसंगको छलफलमा प्रहरीसङ्ग समन्वय गरेर कार्यक्रम गर्न अनुरोध गरिपछि सिड नेपालले अन्तरक्रिया कार्यक्रम गर्न सहकार्य गरेकोमा विशेष धन्यवाद समेत पनि दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रहरी प्रमुख धमलाले बालविवाह, लागु औषध र समाजिक संजाल प्रयोग गर्दा सचेत रहन समेत सुझाव दिए ।
यस्तै समाजमा हुने गरेका अन्य जुनसुकै विभेद, हिंसा, अपराधका घट्ना जोसुकै व्यक्तिले थाहा पाए पनि प्रहरीलाई जानकारी गराई सहयोग गरिदिन समेत उनलेे आग्रह गरे ।
यसैगरी सिड नेपाल डोटीका अध्यक्ष यज्ञराज जोशीले सिड नेपालले वि.सं. २०६३ सालदेखी स्वास्थ्य, बाल अधिकार लगाएतका क्षेत्रमा काम गर्दै आईरहेको स्मरण गराउदै समाजिक कुरिती, कुसंस्कार न्यूनीकरण, बालबिवाह, घरेलु हिंसा, लैङ्गिक हिंसा न्यूनीकरण जस्ता क्षेत्रमा काम गर्दै आईरहेको बताए ।
अहिले धेरैजसो बालबालिकाहरुले मोबाईलमा फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका कारण पनि बालबिवाह भैइरहेको ठहर गर्दै यस्ता कार्यहरू न्यूनीकरण गर्नका लागि विद्यार्थीहरुबाटै सचेतना अभियान चलाउनुपर्ने डोटी बहुमुखी क्याम्पस प्रमुख डिलानन्द जोशीले बताए ।
अन्तरक्रिया कार्यक्रममा बाल बिवाह, लागु औषध र यसको असरको, कानुनी तथा नितिगत व्यवस्था बारे छलफल, फोटो र भिडियो प्रदर्शन पनि गरिएको थियो ।
डोटी बहुमुखी क्याम्पसको हलमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, डोटी क्याम्पस र नगरपालिका भित्रका अन्य विद्यालयका विद्यार्थीहरु, पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.