अरुलाई सुरक्षित सुत्केरी गराउने अनमी आफू सुत्केरी हुँदा ज्यान गुमाइन

3,568

भाद्र ८, डोटी ।
अरु महिलालाई सुरक्षित सुत्केरी गराउने डोटीकी एक अनमीले आफू सुत्केरी हुँदा ज्यान गुमाउनु परेको छ ।
जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-६, गिरिचौकाको खतेडाकी ३२ वर्षिया जानकी बोहरा खडायतको ज्यान गएको हो ।
जिल्ला अस्पताल डोटीमा मृत शिशुलाई जन्म दिएको केही समयपछि बुधबार साँझ उनको मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर राजेन्द्र फुलाराले जानकारी दिए ।
हिजो मंगलबार रातीदेखि स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान स्वास्थ्यचौकीदेखि करिब ३ घण्टा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म ल्याएको र त्यसपछि ३ घण्टा गाडीमा डोटी जिल्ला अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याएको करिब १० मिनेटमै उनले मृत शिशुलाई सहजै जन्म दिएकी थिइन् । त्यसपछि अत्यधिक रक्तस्राव भएर झण्डै डेढ घण्टामा उनको मृत्यु भएको हो ।
उनको ज्यान बचाउन डाक्टर प्रकाश ठकुल्ला लगायत अस्पतालका थप अरु डाक्टरको टोली पनि खटिएको थियो । अस्पतालमा भएका सबै प्रविधि प्रयोग गरेर उनको ज्यान बचाउन खोजिए पनि प्रयास असफल रह्यो ।
जिल्ला अस्पताल श्रोतका अनुसार पेटभित्रको शिशु दुई तीन दिन अगाडी नै मरिसकेको र जन्मिने क्रममा शिशुको शरीरको छाला समेत निस्किएको देखिएको जनाएको छ ।
सुत्केरी हुने समय करिब एक महिना बाँकी थियो ।
उनको ९ वर्षको एक छोरा छ । पहिलो पटक उनी सुत्केरी हुँदा अप्रेशन गरी बच्चा निकालिएको थियो ।
घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा २०७० सालदेखि सेवारत थिइन् ।
सैयौं महिलालाई सुरक्षित सुत्केरी गराउने बोहराका लागि आफू सुत्केरी हुँदा न त राज्यको हेलिकप्टर उद्दार सुविधा न त अस्पतालका सुविधाहरुले नै काम नगरेपछि अकालमा ज्यान गुमाउनु परेको हो ।

Leave A Reply

Your email address will not be published.