डोटी जोरायलको घण्टेश्वर मावि अध्यक्षमा दिव सिंह शाहु सर्वसम्मत चयन
पुस २४, डोटी ।
डोटीको जोरायल गाउँपालिकाको अग्रणी शैक्षिक संस्था घण्टेश्वर माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
व्यवस्थापन समितिको अध्यक्षमा जोरायल गाउँपालिका – ४, का स्थानीय समाजसेवी दिव सिंह शाहु सर्वसम्मत चयन भएका छन् ।
निवर्तमान विद्यालय व्यवस्थापन समितिको समयावधि केहि समय अगावै सकिएर नयाँ समिति गठन प्रक्रिया अगाडि बढाइएको भए पनि अध्यक्ष पदमा आकाङ्क्षीहरुबिच सहमति जुट्न नसक्दा उक्त कार्यले पूर्णता पाइसकेको थिएन । जसका कारण नव निर्वाचित अध्यक्ष शाहु नै जेष्ठ सदस्यको हिसाबले समितिमा अध्यक्षता गर्दै आएका थिए । अन्ततः सर्वसम्मतिले नेतृत्व चयन गर्दै समिति गठन गरिएको उक्त विद्यालय परिवारले जनाएको छ ।
समितिको सदस्यमा गगन सिंह थापा, जीतेन्द्र बोहरा, विना बोहरा, खिमा बोहरा, पुनि कोली, सम्बन्धित वडाबाट पदेन सदस्य जोरायल – ४, का वडा अध्यक्ष नन्दराज भट्ट र सदस्य सचिव सो विद्यालयका प्रधानाध्यापक सुनलाल थापा रहेका छन् ।
समितिमा सदस्यका रूपमा शिक्षक प्रतिनिधि छनोट गर्न बाँकी रहेको जनाइएको छ ।
वि.सं. २०१२ सालमा प्राथमिक तहको पठनपाठन शुरु गरेको उक्त विद्यालयले २०२६ मा माध्यमिक तह हुँदै २०५३ मा उच्च माध्यमिक तहको पठनपाठन शुरु गरेको थियो भने २०७० सालदेखि प्राविधिक धारमा समेत पठनपाठन गराउँदै आएको छ ।