नेपाली एजेन्टबाटै यसरी ठगिन्छन् नेपालबाट भारत आउने नेपाली यात्रु
प्रेम नेपाली/माघ १३, भारत ।
सबै चाडवाड तथा मेलापर्वहरु सकेर सुदुरपश्चिमका युवाहरु भारत तर्फ जान लागेका बेला नेपाली एजेन्टबाट नै ठगिने गरेको पाइएको छ ।
सुदुरपश्चिमको धनगढी हुदै भारतको पलिया नाकाबाट सिधै बेङ्लोर पुर्याईदिने भनेर लैजाने तर बिच बाटोमा नै अलपत्र पार्ने गरेको पाईएको हो ।
यहि माघ १० गते अर्थात जनवरी २४ तारिकका दिन मात्रै न्यु श्री पशुपतिनाथ जयलक्ष्मी टुर्स एण्ड ट्राभल्स प्रा.लि.को एउटा बसमा यात्रुले निकै सास्ती खेपेका छन् । दिपक बिष्ट संचालक रहेको उक्त टुर्स एण्ड ट्राभल्स प्रा.लि. को काउण्टर धनगढी चौराहा स्थित होटेल जयलक्ष्मीमा राखिएको छ ।
त्यो दिन धनगढीबाट सिधै र सहज यात्रा सहित बेङ्लोर पठाईदिने भन्दै सो प्रा.लि.को समितीमार्फत भारतिय नम्बर प्लेटको बस भारतकै गाडी चालकको भरमा पठाईयो । तर बाटोमा यात्रुहरुलाई सहयोग गर्ने उक्त समितीका प्रतिनिधि कोहि पनि नभएका कारण यात्रुहरुले सास्ती बेहोर्नु परेको सोहि बसमा यात्रा गरिरहेका ४८ वर्षिया शंकर बलायरले दुखेसो पोखे ।
भारतीय क.५१ बि.१२३० नम्बर प्लेटको बसको सिट क्षमता ७२ जनाको थियो । तर बसमा बालबालिका सहित १०३ जना सवार रहेका सोही बसका यात्रु कमल रावलले बताए ।

जसमा दुई जनाको सिटमा ६ जना आउन बाध्य भएको उनले सुनाए ।
यसैबिच यात्रु पठाउने समितिका मानिसहरुले बसको भाडा नपठाएको भन्दै रवि नाम गरेका बस चालक र गाडी साहुले भारतको कर्नाटकको देवापुर भन्ने ठाउँमा बिहीवार राती ११ बजेबाट शुक्रबारसम्म बस रोकेर अगाडी नबढेपछि यात्रुहरुले थप सास्ती खेप्नुपरेको छ ।

धनगढीको होटेल जयलक्ष्मीमा नै धेरै जसो यात्रुबाट प्रती यात्रु ४ हजार नेपाली रुपैंयाँ भाडा असुली गरिएको भए पनि कसैबाट भने पाँच हजार देखि पच्पन्न सयसम्म भाडा असुली गरेको छ । यति मात्रै नभई भारतको पलियासम्म आइपुग्दा बसमा मान्छे राख्नका लागि नाम बताउन सजिलो हुने भन्दै सबै यात्रुहरुले काटेका टिकेट समेत थुतेर गाडी स्टाफसङ्ग राखी दिएको यात्रुहरुले बताए । गाडी चालक र साहुले गाडीमा भएका सबै समान निकाल्न लगाएर अनि आफुहरु गाडी धुन जान्छौ भनेर निस्केको बस १६ घण्टापछि अर्थात शुक्रवार दिउँसो साढे तीन बजे मात्र सम्पर्कमा आईपुगेको छ ।

बसका यात्रुहरु भन्छन –‘भारत पुगेपछी नोकरी गरौंला र कमाई गरेर तिरौंला भनेर हामीले गाउँघरबाट ऋण सापटी निकालेर भारत आयौं । त्यसैमा पनि हाम्रै नेपालका समितीका मानिसहरुबाट यस्तो ठगी हुनु, लुट हुनुले निकै दुःख दिएको छ ।’
आफुहरुले बेङ्लोर पुग्ने गरी सिमित भाडा बोकेर हिडेको तर बाटोमा बस यात्राको लुटतन्त्रका कारण सबै पैसा आधा बाटो नपुग्दै सकिएकाले अब सम्बन्धित ठाउँसम्म कसरी पुग्ने भन्दै पीडा सुनाएका छन् ।

तर बझाङ घर भएका बेङ्लोरमा रहेका बस संचालक समितिका प्रतिनिधि जनेश्वर जोशीले त्यो बस नआए पनि हामी यताबाट अर्को गाडी पठाउँछौ, तपाईहरु त्यता खाना खाएर ढुक्क भएर बस्नु भन्दै विश्वास दिलाएका छन् ।
यात्रुहरु भन्छन् आफै सुरक्षित नरहेको यात्रा गराउने बस व्यवसायी र समितिलाई कारवाही हुनु त पर्ने हो । तर कसले गरिदिने ?
बिरानो ठाउँमा यसरि लामो यात्रा गर्दा वा गराउँदा यात्रुहरुको सुरक्षा, स्वास्थ्य अवस्था, आर्थिक अवस्था आदि कुराहरु ध्यानमा राखि यात्रा गर्न गराउन जरुरी देखिन्छ ।

यो एक प्रतिनिधी घटना मात्रै हो । कामका लागि जीवन दाउमा राखेर भारत आउने नेपालीहरुले यस्ता कैयौं सास्ती झेल्ने गरेका छन् ।