आत्मदाह गरी निधन भएका प्रेमप्रसाद आचार्य परिवारलाई सहयोगार्थ डोटी उद्योग वाणिज्य संघद्वारा रकम सङ्कलन गरिदै

एकैदिन उठ्यो रु.५२ हजार बढी रकम

539

माघ १२, डोटी ।
काठमाडौं नयाँ बानेश्वर चोकमा अस्ति मंगलबार दिउँसाे आफैंलाई आगो लगाएपछि निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई सहयोगार्थ डोटीमा रकम सङ्कलन गर्न थालिएको छ ।
डोटी उद्योग वाणिज्य संघले स्वर्गीय आचार्यको तस्वीरमा विहिबार श्रद्धाञ्जली सहित माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ भने ५२ हजार १ सय ९३ रुपैयाँ सङ्कलन पनि गरेको हो ।
दिपायल क्षेत्रमा स्वेच्छिक सहयोग रकम सङ्कलन गरिएको र भोलि शुक्रबार बिहान फ़ेरि दिपायल र राजपुर क्षेत्रमा सहयोग रकम सङ्कलन गरिने शैलेश्वरी अस्पताल दिपायलका सञ्चालक आइजङ्ग कुँवरले जानकारी दिए ।
विपत्तिमा रहेको परिवारलाई थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग रकम जुटाउन खोजेको कुँवरले बताए ।
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेल सहितको टोलीले सङ्कन गरेको उक्त रकम स्वर्गीय आचार्यको परिवारको खातामा जम्मा गरिने डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवन बाहिर निस्कने क्रममा मंगलबार शरीरमा पेट्रोल खन्याएर आगो लाएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको थियोे । व्यवसायिक जीवनमा असफलता भोगेको भन्दै ३७ वर्षीय आचार्यले आत्मदाह गरेका हुन् । उनलेे आत्मदाह गर्नुअघि ६ हजार ५ सय शब्द लामो वक्तव्य फेसबुकमा पोस्ट गर्दै व्यवसायिक जीवन असफलताको फेहरिस्त सहित आफूलाई ठगी गर्ने दर्जनौं व्यक्ति तथा व्यवसायिक कम्पनीहरुमाथि गम्भीर आरोप समेत लगाएका छन् ।
आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा बनेको समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने छन् ।
आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस सम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको छ ।
आचार्यले उठाएको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्को बुधबारको बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

Leave A Reply

Your email address will not be published.