डडेल्धुराको रडुवामा एक हप्तासम्म दिनहुुँ ४ घण्टा सडक अवरुद्ध हुने
जेठ २९, डोटी ।
डडेल्धुराको रडुवामा एक हप्तासम्म दिनहुँ ४ घण्टा सडक अवरुद्ध हुने भएको छ ।
डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने के.आइ.सिंह राजमार्गको रडुवामा सडक मर्मत गरिने हुँदा जेठ ३० देखि असार ४ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीका अनुसार उक्त समयमा सडक पूर्ण रूपमा अवरुद्ध गरिने भएकोले यात्रुहरुले सो समयमा वैकल्पिक बाटोको प्रयोग गर्नुपर्नेछ । यद्यपि पैदलमार्ग बाहेक सवारी आवागमनका लागि भने वैकल्पिक बाटो पनि छैन ।
खासगरी २०७८ साल असोज ३१ देखि कार्तिक २ गतेसम्म परेको लगातारको भारी वर्षाका कारण उक्त ठाउँमा पहिरो जादा सडक अवरुद्ध भएको थियो । सो समयमा करिब एक साता लगाएर ट्रयाक सुचारू गरिए पनि त्यसयता बेला-बेलामा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको थियो ।
माथिल्लो भागमा पनि चट्टान भासिएर डरलाग्दो अवस्था छ भने तलबाट बाढीले काटेर उक्त सडकको यात्रा निकै डरलाग्दो एवं जोखिमपूर्ण छ ।
अब सडक मर्मत हुने भएपछि यात्रुहरुलाई राहत हुने आशा पलाएको छ ।