के छन् डोटीमा स्वास्थ्य क्षेत्रका राम्रा अभ्यास, सबल पक्ष र चुनौती ?
असार १४, डोटी ।
स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भएका राम्रा अभ्यास, सबल पक्ष र चुनौतीहरु सार्वजनिक गरेको छ ।
विहीबार आयोजित स्वास्थ्य कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममार्फत उक्त कार्यालयले जिल्लामा भएका राम्रा अभ्यास, सबल पक्ष र चुनौतीहरु सार्वजनिक गरेको हो ।
स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार राम्रा अभ्यासहरुमा जिल्लामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम, कुपोषण पहिचान अभियान सञ्चालन, प्रजनन स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन, विद्यालय स्वास्थ्य नर्स कार्यक्रम, आइयुसिडी/इम्प्लान्ट सेवाको सेटेलाइट क्लिनिक सञ्चालन, खानेपानी गुणस्तर परीक्षणका लागि प्रयोगशाला, बुडरमा हेल्थ डेस्क स्थापनालाई लिएको छ ।
यस्तै नसर्ने रोगहरुको स्क्रिनिङ् (रक्तश्राव, सुगर, पिसाबमा प्रोटिनको जाँच) मुख्यमन्त्री जेष्ठ नागरिक कार्यक्रम तथा आत्महत्या रोकथाम कार्यक्रम, स्वास्थ्यचौकीको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अभिमुखिकरण तथा समिक्षा, प्रत्येक पालिकामा कम्तिमा एक विद्यालयमा विद्यार्थीहरुको दाँत, कान, आँखाको चेकजाँच तथा उपचार शिविर, वडादेखि पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता लगाएत राम्रा कामहरु भएको जनाईएको छ ।
यसैबिच स्वास्थ्य क्षेत्रमा काम गर्नका लागि कानुनी पुर्वाधार हुनु, सबै तहमा राजनीतिक नेतृत्व, अपनत्व र प्रतिबद्धता, स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन, स्वास्थ्य सँस्थाहरुको संख्यामा बृद्धि, स्वास्थ्य सेवामा पहुँच बृद्धि, स्वास्थ्य सूचना व्यवस्थान प्रणाली कार्यान्वयन, स्थानीय तहमा माग पहिचान गरी बजेट बिनियोजन गरी काम गर्न मिल्ने वातावरण सिर्जना हुनुलाई सबल पक्षका रुपमा लिईएको छ ।
यति हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा काम गर्न केहि चुनौतीहरु रहेको स्वास्थ्य कार्यालय डोटीले औंल्याएको छ ।
कूल दरबन्दीको ४७ प्रतिशत दरबन्दी रिक्त हुँदा जनशक्तिको अभाव हुनु, पूरानो र अवैज्ञानिक दरबन्दी संरचना हुनु, प्रभावकारी समन्वयको कमि, पर्याप्त श्रोतसाधनको व्यवस्थापन हुन नसक्नु, लिईएको लक्ष्य नमिल्नु, सिजनल बसाइंसराईं हुनु, परम्परागत साँस्कृतिक खानपान, छिटो गर्भाधान लगाएतका विषयहरु चुनौतीका रुपमा लिईएको छ ।
स्वास्थ्यमा सुधार गर्न रिक्तदरबदी परिपुर्ती गरिनुपर्ने, दरबन्दी संरचना समय सापेक्ष परिमार्जन हुनुपर्ने, आधारभुत स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित हुनुपर्ने, प्रभावकारी समन्वय संयन्त्र निर्माण गरिनुपर्ने, पर्याप्त बजेट व्यवस्थापन र प्रभावकारी कार्यान्वयन हुनुपर्ने, सबै नीतिमा स्वास्थ्यलाई जोड दिनुपर्ने स्वास्थ्यका सामाजिक मुल्यमान्यताहरुको समाधान गर्नुपर्ने र स्वास्थ्यलाई बहुक्षेत्रगत रुपमा समाविष्ट गर्नुपर्ने लगाएतका काम गर्नुपर्ने औंल्याएको छ ।
जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी सहभागि रहेको उक्त कार्यक्रममा जिल्लाभित्र स्वास्थ्य क्षेत्रमा भएका तथ्याङ्कगत प्रगति विवरण पनि सार्वजनिक गरेको थियो ।