गजल – ‘मेरी प्यारी…’

297

गुन्यू चोली रातो सारी, लाऊ मेरी प्यारी
तीज मनाउन बरु माईतै, जाऊ मेरी प्यारी

जन्म दिने आमा-बुबा, अरु माइती सबै
दुइ चार दिन सँङ्गसँङ्गै, रमाऊ मेरी प्यारी

जोगाउनु छ सँस्कृति, गर्नुहुन्न तडक भडक
इज्जत जाने छोटा लुगा, नलाऊ मेरी प्यारी

पानी नखाई बस्नुपर्छ, निराहार तीजको व्रत
दारु होईन पोषिलो दर, खाऊ मेरी प्यारी

छाडा भए गीत पनि, हेर्दा सुन्दा लाज लाग्छ
समाजमा पच्ने गीत, गाऊ मेरी प्यारी

वर्ष दिनमा आउने तीज, गर्नुपर्छ रमझम
झुमीझुमी नाँच अनि, नँचाऊ मेरी प्यारी

जुनी काट्नु छोरीको जात, गरी खाने कर्म घरमा
कामकाज सम्झी घर फर्की, आऊ मेरी प्यारी

– झलक पाली “झरना”

(रचना मिति : २०७४ भाद्र ८ गते विहीबार)

Leave A Reply

Your email address will not be published.