एमाले डोटीको नवौं जिल्ला अधिवेशन मिति तोकियो, आगामी मंसिर २३ र २४ मा हुने

896

भाद्र ७, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको मिति तोकिएको छ । बुधबार सिलगढीमा सम्पन्न एमाले डोटीको सचिवालय स्तरीय बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर २३ र २४ मा आयोजना गर्ने निर्णय गरेको हो ।
कार्य अवधीका हिसाबले वर्तमान जिल्ला कमिटीको अधिवेशन अवधी नपुगेको भए पनि एमालेले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा देशभर जिल्ला अधिवेशन आयोजना गर्न लागेको एमाले पोलिट ब्युरो सदस्य तथा डोटी इञ्चार्ज लिला भण्डारीले जानकारी दिइन् । उनले भनिन्–‘डोटीमा जिल्ला कमिटिको कार्यकाल त पूरा भएको छैन, तर पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले देशभरमा प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटीसम्म अधिवेशन गरीरहेको छ ।’
एमालेले २०८० लार्ई ‘अधिवेशनको वर्ष’का रुपमा लिएको छ । २०७९ फाल्गुनदेखि २०८० बैशाखसम्म एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमपश्चात बैशाख २८ देखि ३० सम्म सञ्चालित केन्द्रिय कमिटीको बैठकबाट २०८० लार्ई ‘अधिवेशनको वर्ष’का रुपमा तोकेको हो ।
जस अनुसार देशभरका प्रदेश अधिवेशनको मिति घोषणा भैसकेको छ भने आगामी चैत्र मसान्तसम्म जिल्ला, पालिका, वडा र टोल अधिवेशन गर्ने निर्णय रहेको छ ।
सोहि समय सिमाका आधारमा एमाले डोटीले पनि कार्यतालिका तयार पारेको एमाले डोटी अध्यक्ष चक्र मल्लले बताए । अध्यक्ष मल्लका अनुसार भाद्र महिनामा पालिका स्तरमा बैठक, भेला, प्रशिक्षण सञ्चालन गर्ने र सोहि कार्यक्रमहरुबाट पालिकागत कार्ययोजना निर्माण गरी पार्टी गतिविधी सञ्चालन हुनेछन् ।
एमालेको निर्णय अनुसार पहिलो चरणमा यहि भाद्र ८ गते शिखर नगरपालिका, ९ गते पुर्विचौकी गाउँपालिका, १० गते दिपायल सिलगढी नगरपालिका, ११ गते के.आई.सिंह गाउँपालिका, १२ गते आदर्श गाउँपालिका, १३ गते सायल गाउँपालिका, १६ गते जोरायल गाउँपालिका, १७ गते बडिकेदार गाउँपालिका र १८ गते बोगटान फुड्सिल गाउँपालिकामा बैठक, भेला तथा प्रशिक्षण कार्यक्रम तय गरेको एमाले डोटी सचिव शेर बहादुर मल्लले जानकारी दिए ।
त्यस लगत्तै भाद्र २३ गते एमालेले सबै जनसंगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ भने अधिवेशन गर्न बाँकी रहेका जनसंगठनहरुको आगामी असोज मसान्तभित्र अधिवेशनहरु सम्पन्न गर्नेछ ।
यस्तै पार्टीका ९ वटै पालिका कमिटी अधिवेशन आगामी माघ मसान्तभित्र, ६५ वटै वडाका अधिवेशन फाल्गुन मसान्तभित्र र जिल्लाभरका टोल कमिटीको अधिवेशन चैत्र मसान्तभित्र गरिसक्ने तथा पालिकाहरुमा वर्षमा कम्तिमा २ पटक पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसका साथै जिल्लाका सबै भूगोल समेट्ने गरी १९ जनालाई पार्टी जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ भने हर्क बहादुर सिंहको संयोजकत्वमा जिल्ला सल्लाहकार परिषद, सहदेव खाँतीको संयोजकत्वमा जेष्ठ नागरिक मञ्च गठन र केहि विभागहरुलाई पूर्णता दिएको छ ।
यसैगरी एमाले डोटी जिल्ला कमिटी उप–सचिव तेज बहादुर डुम्रेलकी ममतामयी आमाको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.