“प्रदेश राजधानीको नाममा फोहोरी राजनीति नगरौं”

1,258

– केशव बलायर
सबैलाई थाहा छ, मानिस सुविधाभोगी हुन्छ । जसले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सुविधा भएको ठाँउ हेर्छ । भौगोलिक हिसाबले सुदूरपश्चिम पहाड, तराई र केही भाग हिमालले पनि ओगटेको छ।
मैले राजधानीको विषयमा निम्न कुराहरूलाई टेकेर धारणा बनाएको छु-
१) भौगोलिक :
तराई आफैमा उर्वर भूमि हो । जसलाई अन्नको भण्डार पनि भनिन्छ । यदि साँच्चिकै सरकारले तराईको कृषिमा आधुनिकरण गर्ने हो भने पूरा नेपाललाई खान पुग्छ । पहाडबाट तराई बसाई सरी जाने मान्छेहरूको सङ्ख्या अत्यधिक छ । जसले गर्दा सरकारले सही नीति ल्याउन सकेन भने उर्वर भूमिमा घरहरु मात्र देखिने छन् र भविष्यमा खाद्य संकट आउने लक्षण देखिरहेको छ। त्यही भएर भूगोलको हिसाबले राजधानी पहाडमा नै हुनुपर्छ ।
हिजोका दिनमा के भयो ? केही राजनितीक दलहरु पहिचानको राजनीति गर्न चाहानुहुन्छ । तर यस्तो प्रकारको राजनीतिक अभ्यासले देश सकिनेमा कुनै दुई मत छैन । राजधानीको विषयमा धेरै राजनीति भयो । पहाडबाट चुनाव लड्यो भने पहाड ल्याउँछौैँ र तराईबाट चुनाव लड्यो भने तराई लग्छौँ भनेर भोट माग्दै चुनाव जिते, तर अध्ययन र अनुसन्धान भएन ।
जस्तै म डोटीमा कुनै राजनीतिक दलको नेतृत्व गर्छु भन्दैमा मैले राजधानी डोटी हुन्छ भनेर हुने हैन । अरु जिल्लाको पनि त्यही हो । मैले डोटीबाट चुनाव जितेको भएपनि म ल्याउन सक्दैन । चुनावको बेलामा राजधानी ल्याउँछु भनेर भोट माग्नेहरु झुटा बोलेका हुन् तर सदनमा आफ्नो कुरा राख्न सक्छन् ।
अहिलेको जस्तो राजनीतिक अभ्यास अनुसार त बाजुराको मान्छेले राजधानी बाजुरा हुनुपर्छ भनेर पनि भन्नसक्छ ।
मेरो विचारमा राजधानीको बिषयमा डोटेली जनताको बुझाई र परेको असर – जब २०३१ सालमा नेपाललाई ५ विकास क्षेत्रमा विभाजन गरियो, त्यतिबेला सुदूरपश्चिम विकास क्षेत्रको नामाकरण सहित राजधानी दिपायल तोकियो ।
त्यतिबेला राजधानीको नाममा कुनै राजनीतिकरण थिएन र भूगोलको हिसाबले बीचमा पर्ने स्थान नै राजधानीको प्रमुख आधार थियो । जसमा भूगोलविदहरु सँगको सल्लाहमा राजधानी तोकिएको थियो । देशमा संघीयता आएपछि सुदूरपश्चिममा जिल्लाको फेरबदल भएन । यो प्रदेशमा अहिले पनि ९ वटा जिल्ला नै छन् ।
जनताको राय सुझाव नलिएर व्यक्तिगत स्वार्थमा राजधानी सारियो । यदि अध्ययन र अनुसन्धान गरेर प्रतिवेदन तयार पारेर वैज्ञानिक कारण देखाएको भए डोटेली जनतालाई अन्याय हुने थिएन । राजधानी सर्नु ठूलो कुरा नै होइन र राजधानी भएपछि मात्र विकास हुन्छ भन्नु पनि गलत हो । विकास गर्नको लागि नेतृत्व पंक्ति सच्चिनु आवश्यक छ र जनताकाे सोच परिवर्तनको लागि नेतृत्वले भिजन बनाउनु पर्छ । राजधानी रहिरहेको स्थानबाट अरु ठाउँमा सार्नु गलत नै हो ।जनतासँग सल्लाह नगरिकन यसरी बल प्रयोग गरेर स्थानान्तरण गरेकोले डोटेली जनताको गम्भीर असहमति रहिआएको छ ।
२) मनोवैज्ञानिक असर :
बनेका संरचना प्रयोगमा नआउँदा र व्यापारी पलायनको कारण जनताहरू गम्भीर चिन्तामा हुनुहुन्छ । राजधानी भएको ठाउँमा मात्र विकास र सुविधा हुन्छ भन्ने भावना जनतामा परेको छ । त्यहि भएर पहाडका अधिकांश घरहरू खाली भईसकेका छन् ।
गाउँ मात्र हैन, डोटी जिल्लाको सदरमुकाम कान्छी नेपालको नामले चिनिने सिलगढी, जहाँको हावापानी स्वर्ग झै आनन्दित छ । शैलेश्वरी माताको काखमा अवस्थीत यो ठाउँ पहाड भएर नै यहाँका मान्छेहरू सुविधा भएको ठाउँमा बसाईसराई सर्नु भएको छ र यहाँका अधिकांश घरहरू खाली नै छन् ।डोटीमा असल र ईमान्दार नेतृत्व नहुनु यसको प्रमुख समस्या हो ।
हरेक शनिबार नयाँ कार्यक्रममा हामीले सोधेका प्रश्ननहरुको आधारमा मान्छे पलायन हुनुको प्रमुख कारणहरु ।
प्रमुखतया बजारका मान्छेहरु गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारको कारणले पलायन भएको पाईयो भने गाउँका मान्छेहरु शिक्षा, स्वास्थ्य, रोजगार र यातायातको सहज पहुंच नभएको कारण पलायन भएको पाईयो ।
सायद, हिजोका नेतृत्व ज्यूहरूले यी कुराहरूलाई लियर भिजन बनाएको भए आज हामीले यस्तो दिन देख्नुपर्ने थिएन ।
३) आर्थिक :
राजधानी सार्दा भोलिको दिनमा धेरै मात्रामा संरचनाहरु बनाउनुपर्ने छ । जसले गर्दा देशलाई आर्थिक भार पर्नेछ र जनताहरू मार्कामा पर्नेछन् । बनेका संरचना नै प्रयोग गर्नु अहिलेको आवश्यकता हो ।
४) राजनीतिक :
राजधानीको विषयमा जनतालाई भोट बैंकको रूपमा प्रयोग गरिनु दु: खद थियो । हामी सबै नेपाली एक हौ भन्ने मनशायले हामी आगाडी बढ्नुपर्छ । हाम्रो देशमा महिला र पुरुष बाहेक अरु कुनै जाती नै छैन । कसैले म दलित, म क्षेत्री, म बाहुन, म हिन्दु, म मुस्लिम जे भने पनि सबै हरेकका पहिचान हुन् ।
पहिचान सबैको हुन्छ । तर पहिचानको नाममा राजनीति गर्नु गम्भीर अपराध हुन्छ । किनकि त्यसले हिँसा बाहेक अरु केही निम्त्याउँदैन । सबैले मिलेर बस्नु र भेदभाव रहित समाजको निर्माण गर्नु अहिलेको आवश्यकता हो ।
मधेश आन्दोलन, थारुहट आन्दोलन यसका प्रमुख उदारहण हुन् । जसमा पहिचानको नाममा राजनीति गर्न लगाएर निर्दाेषहरु मारिए ।
राजधानीको विषयलाई पनि यसैसँग जोड्न सकिन्छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका जनताले राजधानी आ-आफ्नो जिल्लामा हुनुपर्छ भन्यो भने यसको सामाधान के हुन्छ भनेर सायद कसैले सोचेको नहोला । अहिलेको राजनितीक घटनाले यस्तै सिकाएको छ । त्यहि भएर अहिले आफ्नो सरकार छ भनेर विभिन्न प्रलोभनमा पारेर माननीय ज्यूहरुलाई सहमतिमा ल्याए पनि यदि राजधानी कता तोक्ने भन्ने विषयमा अध्ययन गर्नुभएको छैन भने गेटा मेडिकल कलेजको जस्तै हालत हुन्छ ।
जहाँ आफ्नो घर हुन्छ ,त्यहाँ राजधानी हुनुपर्छ भनेर हरेकले सोचिराखेको हुन्छ । तर यस्तो सोचले हामी कहाँसम्म पुग्ने ?पहाडबाट तराई बसाईसराई रोक्नको लागि भएपनि राजधानी पहाडमै हुनुपर्छ र संरचना बनेको कारणले देशलाई आर्थिक भार कम गर्न डोटीमा नै हुनुपर्छ ।
फोहोरी राजनीति खेलेर राजधानीको विषयमा कुरा गर्ने हैन बरु आउनुहोस् खुला रुपमा बहस गरौं ।
(लेखक राष्ट्रिय स्वतन्त्र पार्टीको डोटी जिल्ला संयोजक हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.