रामारोशन भ्रमण आउने पर्यटक अन्योलमा

200

असोज १, डोटी ।

रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन् । पर्यटकीय केन्द्र रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सोही कार्यक्रममा भाग लिन आउँदै गरेकाहरू अन्योलमा परेका हुन् ।

स्थानीय प्रशासनले सो सम्मेलनको आधिकारिकता खोजेपछि कार्यक्रम हुने नहुनेमा पनि अन्योलता सिर्जना भएको छ। रामारोशनमा गर्ने भनिएको कार्यक्रम आयोजक, सहभागी र समयका बारेमा प्रस्ट नखुलेको बताइएको छ। स्थानीय प्रशासनले विभिन्न देशबाट आएकाहरूलाई अछाम प्रवेश नाका रोकिदिएको छ। कार्यक्रम गर्नुअगाडि नै स्थान, सहभागी सङ्ख्या, देश, समय अवधिका बारेमा नखुलेका कारण यस्तो समस्या देखिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

प्रशासन कार्यालयले उक्त कार्यक्रमका सम्बन्धमा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग विस्तृत विवरण माग गरे पनि कुनै जानकारी नआएको बताइएको छ। अहिलेसम्म कुनै जानकारी आएको छैन, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो ।

स्थानीय प्रशासन र अछाम प्रहरीले विदेशीले रामारोशनमा गर्न लागेको कार्यक्रमको आधिकारिकता मात्रै खोजेको बताइएको छ । एक महिनाको अवधिमा विभिन्न देशका गरेर दुई हजारभन्दा बढी पर्यटक रामारोशन आउने बताइएको छ ।

रामारोशनमा आयोजना हुने कार्यक्रमका आयोजक, ट्राभल एजेन्सी लगायत विविध कुराको जानकारीका लागि गृह मन्त्रालयमा पत्र पठाइएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप वेस्राले जानकारी दिनुभयो । गृह मन्त्रालयको निर्देशन अनुसार विदेशीलाई त्यहाँ कार्यक्रम गर्न दिने वा नदिने भन्नेमा टुङ्गो लाग्ने छ। रामारोशन पर्यटन विकास समितिले विदेशी नागरिकको शान्तिसुरक्षाका लागि अनुरोध मात्र गरेको छ। – गोरखापत्र अनलाइनबाट

Leave A Reply

Your email address will not be published.