डोटीमा असोज ३ देखि विद्यालय तथा बालविकास केन्द्र अनिश्चितकाल बन्दको घोषणा
असोज १, डोटी ।
नेपाल शिक्षक महासंघ डोटीले असोज ३ गतेदेखि जिल्लाभरीका विद्यालय तथा बालविकास केन्द्र अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको छ ।
संघीय संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकिकरण गर्न बनेको ऐन २०८०’ देशको सार्वजनिक शिक्षा प्रणाली सुधारको सवाल र नेपाली शिक्षक कर्मचारीहरुले वर्षाैदेखि उठाएका पेशागत मागहरुको प्रतिकूल भएकाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको शिक्षक महासंघले जनाएको छ ।
यसैगरी शिक्षा दिवस लगाएतका सम्पूर्ण सरकारी कार्यक्रम बहिष्कार गर्ने पनि नेपाल शिक्षक महासंघ डोटी जिल्ला अध्यक्ष पुरन बहादुर खड्का र सचिव भीम बहादुर डुम्रेलद्वारा हस्ताक्षरित आइतबार प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
असोज ३ गतेदेखि नेपाल शिक्षक महासंघ संघीय समितिको नेतृत्वमा काठमाण्डौ केन्द्रित आन्दोलन पनि घोषणा भैसकेको छ । उक्त आन्दोलनमा डोटी जिल्लाका विभिन्न पालिकाबाट प्रतिनिधीत्व हुने गरी टोली असोज २ गते धनगढीबाट एकसाथ काठमाण्डौ प्रस्थान गर्न लागेको नेपाल शिक्षक महासंघ पूर्वीचौकीका सचिव क्षेत्र बहादुर खड्काले जानकारी दिए ।
शिक्षक महासंघले गर्न लागेको संघ, प्रदेश र जिल्ला तहसम्मको आन्दोलन व्यवस्थापनका लागि शिक्षकहरुका लागि १ हजार र विद्यालय कर्मचारीहरुका लागि ५ सय रुपैंया आर्थिक दायित्व समेत तोकेको छ ।
नेपाल शिक्षक महासंघले उठाउँदै आएका सवालमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबिच विगतमा भएका सम्झौताको धज्जी उडाइएको भन्दै ‘विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकिकरण गर्न बनेको ऐन २०८०’ यथास्थितीमा पारित भएमा सार्वजनिक शिक्षा प्रणाली अस्तव्यस्त हुने र शिक्षक कर्मचारीका वर्षाैंदेखिका समस्याहरुमा झनै जटिलता आउने निष्र्कष सहित शैक्षिक आन्दोलन हुन लागको छ ।
नेपाली शिक्षक कर्मचारीहरुका न्यायीक माग मुद्दाको पक्षमा हुन लागेको आन्दोलन कार्यक्रममा सहयोग गरिदिन शिक्षाप्रेमी, समाजसेवी, अभिभावक, राजनीतिकर्मी, नागरिक समाज, बुद्धिजीवि, विद्यार्थी, पत्रकार लगाएत सबैलाई नेपाल शिक्षक महासंघले अनुरोध समेत गरेको छ ।
हेर्नुहोस विज्ञप्ती –
