डोटीको खडिनामा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते
जेठ २३, डोटी ।
डोटीमा जीप दुर्घटना परी १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जोरायल गाउँपालिका १, खडिनामा बुधबार बिहान करिब साढे चार बजेतिर भएको जीप दुर्घटनामा परी एक महिलाको मृत्यु भएको हो ।
दार्चुलाबाट धनगढी जाँदै गरेको सु.प.प्र. ०१, ००१ ज १४८९ को जीप दुर्घटनामा परेको घटनास्थलबाट पत्रकार शिव बहादुर ओलीले जानकारी दिए । मृतकको सनाखत भैनसकेको पत्रकार ओलीले बताए ।
घाइतेहरुलाई धनगढीस्थित निसर्ग अस्पताल लगी उपचार भैरहेको बताईएको छ ।
घाइतेहरुमा बैतडी डिलासैनी ५ का वर्ष १९ का चालक बासुदेव नाथ, दार्चुला लेकम ६ का वर्ष ४५ का जगत धामी, सोही ठाउँ बस्ने वर्ष ३१ का हरिष पार्की, उनकी श्रीमती वर्ष २६ की भावना ओड पार्की र छोरी वर्ष ३ की रितिका पार्की रहेका छन् । घटनास्थलबाट गम्भीर अवस्थामा उपचारका लागि पठाईएकी रितिकाको पनि मृत्यु भैसकेको बताईएको छ । यद्यपी मृत्युको आधिकारिक जानकारी नपाईएको श्रोतले बताएको छ ।
त्यस्तै घाइते हुनेमा बैतडी डिलासैनी ६ का वर्ष १७ का अर्जुन लुहार र सोही ठाउँ बस्ने वर्ष २२ की रेखा ओड र दार्चुला मालिकार्जुन ४ की वर्ष ६० की मानमती धामी रहेको घटनास्थलमा रहेका बुडर इलाका प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायब निरिक्षक धनन्जय मल्लले जानकारी दिए ।
जीप सडकदेखि करिब ५० मिटर तल खसेको र घटनाको थप अनसन्धान भैरहेको प्रहरीले जनाएको छ ।