आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
प्रेम नेपाली
माघ १, डोटी ।
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान र धार्मिक कार्य गरी मनाइदैछ ।
आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
यस्तै थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।
माघे संक्रान्ति, मकर संक्रान्ति, नरहरी संक्रान्ति, माघी पर्व गरि विभिन्न नामले चिनिने यस पर्वलाई विभिन्न जाती समुदायले भिन्नभिन्न तरिकाले मनाउँछन् । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोसिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिए सरह हुने धर्मशास्त्रमा उल्लेख छ ।
धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थ ध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’ ज्योतिषशास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
यो पर्व डोटीसङ्गै सुदूरपश्चिममा पनि विशेष तरिकाले मनाउने गरिन्छ ।