डोटीको प्रसिद्ध घण्टेश्वर मेला आज

716

भाद्र १५, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजा रजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइदै आएकोमा त्यसै व्यवस्था अनुसार नेपाल सरकारले पनि सानोतिनो रकम पठाउँदै आएको छ । यता मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा ‘तिलख’ पठाउने प्रचलन रहेको छ ।
घण्टेश्वर देवताको विधानमा उल्लेख भए अनुसार भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर त्यो ठाउँमा बास बसेको बुढापाकाहरुको भनाई छ । डोटीको जोरायल क्षेत्रको महत्वपूर्ण मानिने सो मेलामा श्रद्धालु भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ । पवित्र मनले उपवास बसि घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । सो मेलामा जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको बिनोडा गाउँबाट करिब ५ घण्टाको पैदल यात्रा गरि घण्टेश्वर देवताको देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ भने लक्ष्मीनगरकै सैगडा, घण्टेश्वरको सुनलेक, डडेल्धुराको आलिताल गाउँपालिकाको गांखेतको उणीबाट पनि देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ । त्यस्तै गन्यापधुरा गाउँपालिकाको जर्माना गाउँबाट पनि भोक्कर ल्याउने गरिन्छ । मेलामा रातभर महिला र पुरुषहरूको छुट्टाछुट्टै रूपमा सुदूरपश्चिमेली देउडा खेल खेल्ने, गौरा खेल तथा भजन किर्तन गरी रमाइलो गरिन्छ ।
धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको हगुल्टेबाट करिब पौने ४ किलोमिटरको दुरीमा रहेको घनघोर जङ्गलको बिचमा अवस्थित उक्त मन्दिरसम्म पुग्न सकिन्छ । पछिल्लो समयमा पुर्वाधार विकास हुँदै गएपछि भक्तजनको लागि सहजता पनि भएको छ ।
घण्टेश्वर मेलामा डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगाएत विभिन्न टाढा–टाढाबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ । मेला दोश्रो दिन बिहानसम्म लाग्ने गर्दछ ।

Leave A Reply

Your email address will not be published.