आज हरितालिका तीज , देशभर धुमधामसङ्ग तीज मनाइदै
भाद्र १०, डोटी ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।
सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने होईन ।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको र सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताइन्छ ।
तीजको अवसरमा विभिन्न संघ संस्था समूह समुदायले आ-आफ्नो तरिकाले विविध कार्यक्रम सहित तीज मनाउदैछ्न ।
डोटी सदरमुकाममा रहेको दिपायल सिलगढी नगरपालिका ६ नम्बर वडाले आज दिउँसो १ बजेदेखि शैलेश्वरी मन्दिर प्राङ्गणमा शुभकामना आदानप्रदान तथा तीज मिलन कार्यक्रम आयोजना गरी मनाउदै छ ।