नेकपाले डोटीको शिखरमा भण्डाफोर अभियान चलाउने

792

गणेश मल्ल
भाद्र २२, डोटी ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले डोटीको शिखर नगपालिकामा भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।
नेकपा शिखर नगर कमिटि र उपलब्ध जिल्ला कमिटि सदस्यहरु समेतको उपस्थितीमा सोमबार बसेको तेश्रो नगर संगठन कमिटि बैठकले शिखर नगरपालिकामा उक्त अभियान चलाउने निर्णय गरेको नेकपा शिखरका अध्यक्ष सागर भट्टले जानकारी दिए ।
‘भ्रष्टाचार विरुद्धको भण्डाफोर अभियानमा सामाजिक दुरी, कोरोना छल्न छापामार शैली’ नामक अभियान चलाईने निर्णय भएको उनले सुनाए ।
डोटीमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि यहि भाद्र १४ गतेदेखि जारी गरिएको निषेधाज्ञा हिजो आइतबारको निर्णय अनुसार भाद्र २८गते राती १२ बजेसम्म थप गरिएको छ । अहिले निषेधाज्ञा जारी भएकाले निषेधाज्ञा रोकिने वित्तिकै शिखर नगरपालिका क्षेत्रभित्रका ११ वटै वडाहरुमा आगामी असोज महिनाभित्रै अभियान चलाईने उनले बताए ।
सोमबार बसेको बैठकमा मुख्यतया अहिलेको कोरोना महामारीका नाममा भएका ब्यथिती, अनियमितता र भ्रष्टाचारको भण्डाफोर गरिने र अन्य समयका अनियमिताको चिरफार गरिने लगाएतका विभिन्न १० वटा निर्णयहरु भएको नेकपा शखिर नगर संगठन कमिटिले जनाएको छ ।
कोभिड–१९ संक्रमण विरुद्ध जिम्मेवार र इमान्दारिताका साथ लड्ने नगरभित्रका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधीहरुको उच्च सम्मान गर्दै अब उप्रान्त कोभिड १९ को नियन्त्रणमा नेकपाले आवश्यक सबै सहयोग गर्ने पहिलो निर्णय गरेको छ ।
त्यस्तै नगर क्षेत्रमा कोरोना शुरु भए यता कमिशन, भ्रष्टाचार, लुटतन्त्र र राज्यकोषको चरम दोहन भएको जनगुनासो आएकोले सो कुराको सूचना संकलन गर्दै त्यस्तो भएको पाईएमा जनस्तरसम्म यी कुराको उद्घाटित गर्दै अन्यायको ढाकछोपको पर्दाफास गर्ने दोश्रो निर्णय गरेको छ ।
त्यस्तै स्थानीय तहद्वारा कुनै पनि राजनीतिक दल र तिनका नेता, कार्यकर्ताको अवमूल्यन गर्ने कार्यको कडा प्रतिवाद गर्ने सम्भावित प्रलोभन वा धम्कीका विरुद्ध दृढतापूर्वक उभिने, कोरोना महामारी शुरु भए यता भारतबाट भित्रिएका नगरबासीको संख्या र सञ्चालनमा रहेका तथा बन्द भईसकेका क्वारेन्टाइनको विस्तृत विवरण लिने र क्वारेन्टाइन बसेकाहरुको नामावली संकलन गर्ने निर्ण भएको पनि जनाईएको छ ।
त्यसैगरी नगरक्षेत्रभित्रका संक्रमितको तथ्याङ्क संकलनका साथै संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै नियन्त्रणमा आवश्यक सहयोग गर्ने, नगरपालिकाद्वारा यस आर्थिक वर्षभित्र नगरक्षेत्रमा लागु भएका विकास निर्माणका योजना तथा कार्यक्रम, उपलब्ध सेवा सुविधा र वस्तुबारे शुक्ष्म अध्ययन गरी गत वर्ष र चालु आर्थिक वर्षको प्रशासनिक तथा पूँजीगत खर्चको विवरण संकलन गर्ने निर्णय गरेको छ ।
त्यस्तै भ्रष्टाचार र राज्य श्रोतको अनुचित प्रयोग भएको विरुद्धमा चलाईने अभियानमा सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै गलत कार्यको सूचना संकलन गर्दै भण्डाफोर तथा जागरण अभियान चलाउने नेकपाले जनाएको छ ।
त्यस्तै सामाजिक विकृतीका रुपमा रहेको आत्महत्या जस्तो दुःखद घटनाबाट केहि दिन पहिले शिखर नगरपालिका वडा नं. ११ बस्ने माया बलायरप्रति श्रद्धाञ्जली सहित परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय पनि नेकपा शिखर नगर संगठन कमिटिले गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहहरुमा अधिकांश ठाउँमा नेकपाको नेतृत्व भएता पनि शिखर नगरपालिकामा भने प्रमूख, उप–प्रमूख र ११ वटा वडामध्ये वडा नं. ३, ६, ७ र ११ गरी ४ वडा बाहेक ७ वटा वडा अध्यक्ष सहित नेपाली काँग्रेसको प्रत्यक्ष बहुमत रहेको छ ।

Leave A Reply

Your email address will not be published.