स्थानीय युवाद्वारा पुर्वीचौकीमा तालाबन्दी, कर्मचारीद्वारा सरकारी कामकाज स्थगित
असोज २९, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् ।
पूर्वीचौकी गाउँपालिका युवा समाजले विभिन्न ४७ बुँदे माग राख्दै हिजो मंगलबार गाउँपालिकामा सुझाव पेश गरेको तर आजसम्म कुनै निष्कर्ष नआएपछि बुधबार दिउँसो २ः४० बजेतिर तालाबन्दी गरिएको बुझिएको छ ।
युवाहरुले बाहिरबाट तालाबन्दी गरेपछि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपती खड्का लगाएत विभिन्न ५ जना वडा अध्यक्षहरु, एक जना कर्मचारी र दुइ जना सेवाग्राहीहरु भित्रै थुनिएको गाउँपालिकाका अध्यक्ष उपाध्यायले नजर अनलाईनलाई जानकारी दिए ।
“पुर्विचौकी गाउँपालिकाको समिक्षा तथा सुझाव बैठकमा प्रस्तुत प्रतिवेदन” भनेर तयार पारिएका ४७ बुँदे मागहरुमा कुनै पनि युवाहरुको हस्ताक्षर नरहेको र कुनै औपचारिक लेटरप्याड पनि नरहेको गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए ।
युवाहरुसँग हिजोदेखि आजसम्म पनि छलफल भएको तर समाधान नआएको बताईएको छ ।
यता युवाहरुका मागबारे निकै लामो छलफल भए पनि कुनै समाधान नआएपछि कामकाज गर्न असहज भएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले पालिका र सम्पूर्ण वडाहरुमा समेत दैनिक सरकारी कामकाज अर्को सूचना नआउँदासम्मका लागि स्थगन गरेको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । वातावरण असहज भएपछि आफुहरुले कामकाज स्थगन गर्नुपरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीले बताए ।

गाउँपालिकाको लागि विनियोजित रु.१२ करोड र हस्पिटलका लागि विनियोजित रु.१० करोड ९५ लाखको विस्तृत विवरण पेश गर्नुपर्ने, सो रकमको भेरिएशन के कसरी भएको हो प्रमाण सहित पेश गर्नुपर्ने, जलवायु अनुकूलनको रु.१ करोड २० लाख कहाँ र कसरी प्रयोग भयो, त्यसको प्रमाण पेश गर्नुपर्ने, सिँचाई योजना अनावश्यक ठाउँमा निर्माण गरिएको र प्रयोग विहिन रहेको अवस्थामा त्यसको कारण दिनुपर्ने, पानी नहुँदाको अवस्थामा पनि खानेपानी योजना सम्पन्न गरी बिल भुक्तानी गरिएको र धारामा पानी नआएको हुँदा त्यसको कारण दिनुपर्ने, पालिकाको हालै भएको फर्निचर खरिदमा भ्रष्टाचारको आशंका रहेकाले खरिद मापदण्ड, मूल्यांकन र बिल विवरण दिनुपर्ने, २०७९ सालमा पुर्वीचौकी केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा नेपाल सरकारबाट आएको रकम, प्रयोगको अवस्था, वास्तविक पीडितले पाए नपाएको लगाएत स्पष्ट प्रमाण दिनुपर्ने युवाहरुका माग छन् ।
युवाहरुका सुझाव तथा मागहरुमा गाउँपालिकाको सुशासनलाई जोड दिईएको छ । तर ४७ बुँदे माग राख्ने युवाहरुमा औपचारिक रुपमा कसले नेतृत्व गरेका छन् र को को हुन् भन्ने खुलेको छैन ।
गाउँपालिकामा तालाबन्दी भएको विषय आफुलाई जानकारीमा आएपछि समाधानका लागि गाउँपालिकासँग समन्वय भैरहेको डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
तालाबन्दी भएपछि गाउँपालिकामा स्थानीय सानागाउँ प्रहरी चौकीका प्रहरी सहित जिल्ला प्रहरी कार्यालय डोटीबाट समेत प्रहरी टोली सुरक्षामा खटाईएको बुझिएको छ ।
उता सोही गाउँपालिकाको वडा नं. ६ मा पनि युवाहरुले तालाबन्दी गरेको बुझिएको छ ।
यस्ता छन् युवाका ४७ बुँदे माग तथा सुझावहरु :




