‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मिडियाको भूमिका महत्वपूर्ण’–मूख्य निर्वाचन अधिकृत पाण्डे
फाल्गुन १२, डोटी ।
डोटीका मूख्य निर्वाचन अधिकृत पदमराज पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
जिल्ला निर्वाचन व्यवस्थापन समिति डोटीले आयोजना गरेको निर्वाचन र सञ्चार विषयक जिल्ला स्तरीय अन्तरक्रियामा प्रमूख अतिथिका रुपमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । उनले भने–‘मिडियाको विभिन्न ठाउँमा आ–आफ्नो सम्पर्क, समन्वय हुने ठाउँबाट आएका जानकारी, आचारसंहिता उलंघनका विषयहरु र मिडियाले प्रकाशन प्रसारण गरेका समाचार समेत पठाएर जानकारी दिन पनि सक्नुहुनेछ ।’
उनले थपे–‘सञ्चारकर्मीहरुले लिखित उजुरी दिनैपर्छ भन्ने चाहीँ होइन । यद्यपी आचार संहिता उलङ्घनका विषयमा लिखित उजुरी आए राम्रो हुन्छ ।’

यस्तै फेक न्यूज, भिडियो आदिबाट भ्रम फैलाउने, चरित्र हत्या गर्ने र निर्वाचन निर्वाचन आचारसंहिता उलङ्घन गर्नेलाई विद्युतीय कसुर ऐन अन्तरगत सरकारवादी मुद्धा लगाएर कारवाही अगाडी बढाइनेदेखि उम्मेदवारको हकमा उम्मेदवारी रद्द सम्मका कारवाही तथा उम्मेदवार र परिवारका सदस्यको विरुद्ध भ्रम फैलाउनेलाई विद्युतीय कसुर एवं आचारसंहिता उलङ्घन दुवैतर्फ कारवाही हुने उनले बताए । यदि भ्रम फैलाईको पाइएमा त्यस्ता सामाग्री हटाउन जिल्लामा एउटा सेल गठन गरिएको र कहिँ कतै त्यसो गरेको पाईएमा टोल फ्री नम्बर ११०२ मा सम्पर्क गरीदिन आग्रह गर्दै सेलमार्फत त्यस्ता सामाग्री हटाउन लगाईने मूख्य निर्वाचन अधिकृत पाण्डेले बताए । कुनै उजुरी गर्नुपरेमा सिधै निर्वाचन आयोगमा र जिल्लामा पनि उजुरी गर्न सकिने उनले बताए । उजुरी उपर कारवाही गर्न सजाय नै गर्नुपर्ने अवस्था भएमा निर्वाचन आयोगमा पठाइने उनले बताए ।
निर्वाचनको दिन र मतगणनाका बेला पत्रकारहरुलाई रिपोर्टिङ् गर्न सहजताका लागि मिडियाकर्मीले राखेको चासो सम्बन्धमा मतदान अधिकृतहरुलाई दिइने तालिममा यसबारे निर्देशन दिइने उनले बताए ।
मतगणना स्थलमा पत्रकारहरु सबैलाई जान दिने स्थिति नहुने हुँदा मतगणना अपडेट गर्न मिडियाकर्मीहरु सँगको समन्वयमा सहज जानकारी पाउने गरी ह्वाट्सएप ग्रुप लगाएत विकल्प खोजिने उनले प्रतिबद्धता जनाए ।
निर्वाचनमा कर्मचारी खटाउँदा बाहिर आएका असन्तुष्टीबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा मूख्य निर्वाचन अधिकृत पाण्डेले जिल्ला जनशक्ति समन्वय व्यवस्थापन समितिले मापदण्डभित्र रहेर सिफारिस गरेका जनशक्ति खटाईएको बताए । जिल्लामा कार्यरत कर्मचारीहरुको संख्या आवश्यकताभन्दा बढी भएकाले छुटेका कर्मचारीको गुनासो स्वभाविक भएको उनले बताए । तथापि केहि कर्मचारीको सूचि संशोधन पनि भएको र अँझ पनि कुनै कर्मचारी कारणबस नआएमा जुन कर्मचारी फेला पर्यो त्यसैलाई खटाईने उनले बताए । अरु सबै कर्मचारी मापदण्ड अनुसार खटाईए पनि जिल्ला अदालत डोटीमा रहेका करार कर्मचारीहरुलाई भने खटाईएको उनले बताए । उनिहरु उम्मेदवारी दर्ता देखि हालसम्म विभिन्न कामहरुमा खटिरहेका कारण निर्वाचनका लागि पनि खटाईएको बताए । निर्वाचनका लागि डोटीका कूल १ सय १८ मतदान स्थलका १ सय ८१ वटै मतदान केन्द्रका लागि १ हजार ८६ जना खटाईएका छन् । 
त्यस्तै डोटीका १ सय ८१ वटा मतदान केन्द्रमा सुरक्षा व्यवस्थाका लागि १ हजारभन्दा बढी संख्यामा नेपाल प्रहरी सँगै १ हजार ४० जना निर्वाचन प्रहरीका साथै ६५ वटै वडामा ससस्त्र प्रहरी र नेपाली सेना पनि उल्लेख्य संख्यामा खटाईने डोटीका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताईन् ।
निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाहरुको जिम्मेवारी भएकाले मिडियाकर्मीले पनि सहयोगी भूमिका खेलिदिन प्रजिअ नेपालले आग्रह गरिन् ।
यसैबिच यस पटक डोटीमा मतगणना गर्दा सिसिटिभी राखेर ४ ठाउँबाट गणना गरिने उक्त कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले निर्वाचन आयोगको तयारी, आचारसंहिता, जिल्लामा निर्वाचनको तयारी र मिडिया क्षेत्रबाट सहयोगका अपेक्षाहरु लगाएत विषयमा प्रस्तुतीकरण पनि गरेका थिए ।



पत्रकारहरुले उठाएका सवालहरुमा डोटीका मूख्य निर्वाचन अधिकृत पदमराज पाण्डे, प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, निर्वाचन अधिकारी करुणाकर पन्त, प्रहरी उपरिक्षक महेन्द्र नेपालले प्रष्ट्याएका थिए ।