डोटी जिल्ला अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर यादवलाई सम्मान सहित बिदाई
असार २, डोटी ।
जिल्ला अस्पताल डोटीमा कार्यरत एमडिजिपी डाक्टर श्रवण कुमार यादवको सम्मान सहित बिदाई गरिएको छ ।
वि.स. २०८१ असार ३ गतेदेखि नेपाल सरकार विशेषज्ञ छात्रवृत्ति करार सेवा अन्तर्गत जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर यादवको आज मंगलबार अस्पताल परिवार र दिपायल सिलगढी नगरपालिका ६ नम्बर वडा कार्यालयले सम्मान सहित बिदाई कार्यक्रम सम्पन्न गरेको हो ।
डाक्टर यादवले आफ्नो कार्यकालभर अस्पताल तथा सेवाग्राहीप्रति देखाउनुभएको समर्पण, व्यावसायिक दक्षता, जिम्मेवारीबोध र मानवीय सेवाभावले डोटीमा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउनु भएकोले बिदाई सङ्गै सम्मान पनि गरिएको जिल्ला अस्पताल डोटीका अध्यक्ष भरत बोहराले बताए ।
कठिन परिस्थितिमा समेत निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै बिरामीहरूको विश्वास जित्न सफल हुनुभएकोमा वडा कार्यालयको तर्फबाट पनि सम्मान गरिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।
आफ्नो क्षेत्रमा आएर प्रभावकारी सेवा प्रदान गर्ने व्यक्तिको कदर र हौसलाका लागि सम्मान गर्नु आफ्नो पनि दायित्व रहेको वडा अध्यक्ष मलासीले बताए ।
सेवाग्राहीप्रतिको व्यवहार र संतोषजनक उपचार सेवाबाट डाक्टर यादवको अतुलनीय योगदान तथा समर्पणप्रति उच्च सम्मान सहित कार्यक्रमका सहभागीहरुले आगामी दिनहरूमा व्यक्तिगत तथा व्यावसायिक जीवन सफलताको शुभकामना प्रदान गरेका थिए ।