धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक दोहोरी तारा २०८३ आयोजना हुँदै
असार २४, कैलाली ।
कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम लोक दोहोरी तारा–२०८३ आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा आगामी साउन ८ र ९ गते प्रतियोगिता संचालन हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टले प्रतियोगिता एकल दोहोरी गायनमा आधारित हुने र गायक तथा गायिकाले व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्ने जानकारी दिए ।
सबै उमेर समूहका इच्छुक कलाकारले भाग लिन सक्ने उक्त प्रतियोगिताका लागि आवश्यक वाद्यवादन र कोरस गायनमा आयोजकले नै व्यवस्था गर्नेछ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले एक हजार रुपैयाँ दर्ता शुल्क तिरी परिचय खुल्ने कागजातसहित नाम दर्ता गराउनुपर्ने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ।
लोक दोहोरी तारा कार्यक्रमको मुख्य प्रायोजकमा इन्द्रेणी दोहोरी साँझ रहेको छ भने प्रतिष्ठानकै कैलाली र कञ्चनपुर शाखा सह–आयोजक रहेका छन्।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत सहभागिता रहने जनाइएको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
दोहोरी साँझहरूले नेपाली लोक गीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारलाई व्यवसायिक बन्न सहयोग पुर्याउँदै आएको भन्दै प्रतिष्ठानका अध्यक्ष बिष्टले धन्यवाद दिए ।