सुदूरपश्चिमको सातौं जिल्लाका रूपमा डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
असार २८, डोटी ।
डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ एक विशेष कार्यक्रम आयोजना गरि आइतबार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्लाका ९ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।
जोशीका अनुसार जिल्लाभरका यस वर्ष १६ देखि ५९ महीना उमेर समुहका ९ हजार १ सय ६३ बालबालिकामध्ये ९ हजार ९५ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । बाकी ६७ जना बालबालिका भने पूर्ण खोपबाट ड्रप आउट (सुविधाबाट छुट) हुन पुगेको उनले बताए । जसमा सायल गाउँपालिकाका २२, आदर्श गाउँपालिकाका ११, दिपायल सिलगढी नगरपालिकाका ८, जोरायल गाउँपालिकाका ७ र बोगटान फुड्सिल गाउँपालिकाका ६ जना बालबालिका ड्रप आउट रहेका छन् । त्यस्तै के.आई.सिंह गाउँपालिकाका ५, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका ३/३ तथा बडिकेदार गाउँपालिकाका २ जना बालबालिका ड्रप आउट रहेका छन् ।
कार्यक्रममा बोल्दै पूर्ण खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समिति डोटी प्रमुख लक्ष्मण बहादुर सिंहले खोज र खोप अभियानमार्फत पूर्ण खोप अभियान एउटा कम लगानीमा सफल कार्यक्रम भएको बताए । उनलेे यस अभियानमा जोडिएका महिला स्वास्थ्य स्वयंसेविकादेखि अभिभावक, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि स्वास्थ्य कार्यालय लगाएत आम सरोकारवालाहरुमा विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
हरेक काममा दत्तचित्त भएर लागे सफलता सुनिश्चित हुने दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्का बताए ।
स्वास्थ्य सम्बन्धि हक मानिसको आधारभुत हक भएको बताउदै पूर्ण खोप अभियान पनि प्रत्येक स्वास्थ्यकर्मी र सरकारको सिङ्गो प्रयासबाट सफल भएको र यसको दिगोपना महत्त्वपूर्ण हुने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि स्थानीय तहको भुमिका झनै महत्त्वपूर्ण भएको र बसाइँसराइ एक चुनौती देखिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीले बताए ।
कार्यक्रमको अवसरमा अभियान सफल पार्न सहयोग पुर्याउने महिला स्वास्थ स्वयंसेविका, स्थानीय तहलाई प्रतिनिधिमुलक रूपमा र सबै पालिकाका स्वास्थ्य शाखाहरुलाई सम्मान प्रदान गरिएको थियो ।
डोटी जिल्लालाई २०७५ जेठ १९ मा पहिलोपटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । आइतबार डोटीलाई छैटौं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये डोटीलाई यस वर्ष सातौं जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ ।
नेपालमा विभिन्न १४ रोग विरुद्ध ११ वटा खोपहरु लगाइन्छ ।