वर्षातसँगै भैरव गणले ट्वाइलेटको सेफ्टी खोलेर दुर्गन्ध फैलाएको आरोप, ‘आरोप झुटा हो’–सेना

524

भाद्र १४, डोटी ।
डोटी सदरमुकाम सिलगढीमा रहेको भैरवप्रसाद गणले ट्वाइलेटको सेफ्टी खोलेर समुदायमा दुर्गन्ध फैलाएको आरोप लागेको छ ।
गण नजिकै डेरामा बस्ने डोटीका सक्रिय पत्रकार खगेन्द्र बहादुर सिंहले आइतबार बिहान सामाजिक सञ्जालमा उक्त विषय सार्वजनिक गरेका छन् । उनले लेखेका छन्–’भैरव गण सिलगढी, बारुदखानाले आकाशे पानी पर्दा सेफ्टी ट्याङ्की खोलेर खुलारुपमा बगाउने गरेकाले वरिपरिको बस्तीमा गन्धले बस्न सकिएको छैन । यस्तो काम चाहिँ कुनै हालतमा राम्रो होइन ।’May be an image of text
पत्रकार सिंहलाई सम्पर्क गर्दा बिहान करिब २/३ घण्टासम्म वातावरण दुर्गन्धित भएको र यसबारेमा स्थानीय बासिन्दालाई समेत बुझ्न सकिने उनले बताए । यसका साथै पहिले देखि नै गणबाट बेला बेलामा शौचालयको सेफ्टी वर्षातको भेलमा बगाउने गरेको विषय पनि चर्चामा आएको छ ।
पत्रकार सिंहले लेखेको कुरालाई तेज डुम्रेलले पनि फेसबुकमा पोष्ट गरेका छन् । त्यसमा कमेन्ट गर्दै सिलगढीका स्थानीय निरा सिंह ठकुरीले सेफ्टी ट्याङ्कीको कुरा उठाईदिएकोमा धन्यवाद दिंदै ब्यारेकको बारुदखाना नजिक बसि नसक्नु अवस्था रहेको लेखेकी छन् ।
तर यो विषय झुटा आरोप भएको भैरव प्रसाद गणले दावी गरेको छ । उक्त गणका क्याप्टेन संजीव भण्डारीका अनुसार उक्त विषय सामाजिक सञ्जालबाट जानकारी पाउने बित्तिकै शौचालय वरपरको सबै अवस्था हेरिएको र भिडियो समेत सुरक्षित राखेको बताए ।
यस विषयमा गणबाट जिल्ला प्रशासनलाई समेत खबर गरिएको क्याप्टेन भण्डारीले बताए ।
यसभन्दा पहिला पनि सेफ्टी खोल्ने गरेको सन्दर्भमा गणको टोली बेला बेलामा परिवर्तन भैरहने हुँदा आफुहरुलाई पहिलाको कुरा जानकारी नभएको पनि उनले बताए ।
उक्त विषय आफु कहाँ पनि गुनासोका रुपमा आएपछि स्थलगत अवलोकन निरिक्षणका लागि प्रहरी टोली खटाईएको डोटीका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । त्यस्तो समस्या नै हो भने छलफल गरेर समाधान गरिने उनले बताईन् ।
धेरै पानी परेमा शौचालयको सेफ्टी हल्का रसाउने समस्या भए पनि गणभित्रकै जनशक्ति परिचालन गरी समस्या समाधान गरिंदै आएको गणले जनाएको छ । हाल शौचालय व्यवस्थापनका लागि कुनै स्रोत साधनको आवश्यकता समेत नरहेको गणले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.