सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
असोज १, डोटी ।
आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ।
किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको भन्ने कथन रहेको छ । द्वापर युगमा पुतनालाई भगवान कृष्णले दूध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि कृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्तिका दिन बुढी पोल्ने पर्व मनाइने गरिन्छ । यसलाई बुन्ढुनी संक्रान्ती पनि भनिन्छ ।
भाद्र संक्रान्ति अर्थात ओल्के संक्रान्तिका दिन गाउँ नजिकका सकभर अग्लो टाकुरामा सबै जना मिलेर गाडिएको सल्लाको वा अन्य बोटबिरुवाको लिङ्गोमा रूखका हाँगाबिगा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हाल्ने’ भनिन्छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।
आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै चारै दिशातर्फ लुतो फाल्ने प्रचलन रहेको छ । बुढी पोल्न जानुपूर्व गाईको पूजा गरिन्छ । बुढी पोलेको पुतनाको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ। यसो गरेमा पशुचौपायामा कुनै रोग नलाग्ने विश्वास गरिन्छ । विशेषतः केटाकेटीहरु बुढी पोल्नमा बढी उत्साहित भएर लाग्दछन् । बुढी पोलेको ठाउँमा सुदूरपश्चिमको मौलिक सँस्कृति डेउडा समेत खेल्ने गरिन्छ ।
पुतनाको स्वरुपमा तयार गरी सिँगारिएको बाबियो लगाएतका सामाग्रीलाई आज बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने साथै काँक्राको झ्याङ र गोबर थुपारेको ठाउँमा पनि राख्ने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने गरिन्छ। त्यस्तै बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ।