दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै

267

असोज २२, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको आयोजना एवं जिल्ला भलिबल संघ डोटीको व्यवस्थापनमा “बडा दशै खसी कप भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ।
नगरपालिकाको कार्यालयले विहीबार जारी गरेको सूचना अनुसार लागू पदार्थ सेवन, सवारी साधन दुर्घटना, आपसी झैझगडा न्यूनीकरण लगायतका सचेतना जगाउँदै सामाजिक भाइचारा सदभाव कायम गर्ने उद्देश्य सहित चाडपर्वका बेला खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।
प्रतियोगिता २०८३ असोज २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २८ गते बिहान ९:३० बजेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ।
प्रतियोगितामा स्थानीय टिमहरू वडा कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक तथा संस्थागत विद्यालय, जिल्ला भित्रका विभिन्न खेलकुद क्लब तथा टिमहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ।
प्रतियोगिताका खेलहरू प्रचलित भलिबल संघको नियम अनुसार सञ्चालन हुनेछन्।
प्रतियोगितामा प्रथम हुने टिमलाई दशै खसी सहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराइनेछ भने द्वितीय हुने टिमलाई दशै कुखुरा सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र  नगरपालिकाले जनाएको छ।
प्रतियोगिता सिलगढीको टुँडिखेलमा असोज २८ गते बिहान ११ बजे उद्घाटन हुनेछ।

Leave A Reply

Your email address will not be published.