गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’

451

असोज २१, डोटी ।
गायक सौगात ओझाले पछिल्लो समय नेपालमा देखिएका विभिन्न प्राकृतिक विपद्, सामाजिक विकृति, बेरोजगारी, वैदेशिक पलायन तथा अशान्तिलाई समेटेर नयाँ गीत ‘के हुन लाग्यो हाम्रा देश’ सार्वजनिक गरेका छन्।
सौगात ओझा र बसन्ती महराको स्वरमा ओझाकै शब्द तथा संगीत रहेको गीत सौगात ओझा आर्टिस्ट युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

डेउडा भाकामा तयार पारिएको गीतले बाढी, पहिरो, भूकम्प, हिमपहिरो, हिमताल फुट्ने घटना तथा दुर्घटनाका कारण हुने मानवीय क्षतिलाई विषय बनाएको छ। प्राकृतिक विपत्तिसँगै हत्या, हिंसा, बलात्कार, लागूऔषध दुर्व्यसन, मदिरा सेवन र पारिवारिक अशान्तिजस्ता सामाजिक समस्याप्रति पनि गीतमार्फत चिन्ता व्यक्त गरिएको छ।
गीतमा ‘शान्तिको देश नेपाल’ भनेर चिनिने देशमा दिनप्रतिदिन विभिन्न समस्या थपिँदै गएको भाव प्रस्तुत गरिएको छ। हिमालदेखि पहाडका गाउँबस्ती हुँदै सहरसम्म देखिएका समस्या, रोजगारीको अभाव र युवाको विदेश पलायनले गाउँघरमा परेको प्रभावलाई समेत गीतमा समेटिएको छ।
‘के नै छ र हो जीवनको भर, न धन रह्यो न मौजा घर’ तथा ‘पहाडका गाउँबस्ती बाँझो, घर पनि भत्किए, बुढापाका रुल्लटुल्ल, युवा विदेशिए’ जस्ता पंक्तिमार्फत गीतले वर्तमान सामाजिक अवस्थाप्रति चिन्ता र प्रश्न उठाएको छ।
गीतको अन्त्यतिर पितृ पुर्खा तथा कुल देवतासँग क्षमा माग्दै देशमा सुख, शान्ति र सद्भाव कायम होस् भन्ने कामना गरिएको छ। ‘हे शिव, बुद्ध, परमेश्वर, मौला, यो देशमा क्यारी सुख–शान्ति होला’ भन्ने भावले धार्मिक तथा सांस्कृतिक आस्थामार्फत शान्तिको कामना गरिएको छ।
गीतको रेकर्डिङ कुसुम स्टुडियोमा गरिएको हो भने एरेन्ज तथा मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन्। ब्याकग्राउन्ड म्युजिक भरत भट्टको रहेको छ। गीतको क्यामेरा जहिद बुढाले सम्हालेका छन् भने सम्पादन पीआर जोशीले गरेका छन्। पोस्टप्रोडक्सन बीएसजी पिक्चर्सले गरेको छ।
गीत निर्माणमा सहयोग गर्ने समाजसेवी धनगढी उपमहानगरपालिका –१७ का पुष्पराज रानालाई गायक ओझाले विशेष धन्यवाद दिए ।
‘के हुन लाग्यो हाम्रा देश’ मार्फत गायक ओझाले मनोरञ्जनसँगै समाजमा देखिएका समसामयिक विषय, प्राकृतिक विपत्ति र सामाजिक अवस्थाप्रति प्रश्न उठाउने प्रयास गरेका छन्।

Leave A Reply

Your email address will not be published.