इडिसी डोटीद्वारा कोभिड–१९ प्रभावित समुदायमा खानेपानी फिल्टर वितरण
असोज १, डोटी ।
डोटीमा क्रियाशील गैरसरकारी सँस्था सम विकास केन्द्र नेपाल (इडिसी) ले कोभिड–१९ बाट प्रभावित समुदायमा खानेपानी फिल्टर सहयोग वितरण गरेको छ ।
डिसिएको आर्थिक सहयोगमा इडिसिले सञ्चालन गरिरहेको साकार परियोजना अन्तरगत समुदाय स्तरमा मानवीय सहायता तथा वास प्रतिकार्यका लागि पूर्वीचौकी गाउँपालिकाको वडा नं. ३ र ४ तथा के.आई. सिंह गाउँपालिकाको वडा नं. ४, ६ र ७ का २ सय ५० घरधुरीलाई एक÷एक वटा खानेपानी फिल्टर प्रदान गरिएको हो ।
के.आई.सिंह गाउँपालिकाका १ सय ५० घरपरिवारलाई २ लाख ७७ हाजर ५ सय बराबरका र पूर्वीचौकी गाउँपालिकाका १ सय घरपरिवारलाई १ लाख ८५ हजार बराबरका खानेपानी फिल्टर वितरण गरिएको इडिसीका सूचना अधिकारी पदम मिजारले जानकारी दिए । प्रति फिल्टरको मूल्य रु १ हजार ८ सय ५० रहेको बताईएको छ ।
विशेष गरी एकल महिला, अपाङ्गता भएका र सिमान्तकृत समुदायका मानिसहरुको शुद्ध खानेपानीमा पहुँच पुर्याउने उद्धेश्यले सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधीको रोहवरमा फिल्टर प्रदान गरिएको मिजारले बताए ।
समुदायमा पानी उमालेर, सोडिस गरेर वा अन्य उपायबाट शुद्धिकरण गरी पिउने बानी विकास नभएको अवस्थामा फिल्टरको प्रयोगले सहयोग पाएका घरपरिवारका मानिसहरुको शुद्ध खानेपानीमा पहुँच सुनिश्चित हुने परीयोजनाले विश्वास लिएको छ ।