डोटीको कलेनामा अस्थायी प्रहरी पोष्ट स्थापना

486

कार्तिक १, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनामा शनिबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
उक्त पोष्टको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले एक कार्यक्रमकाबिच उद्घाटन गरेकी छन् ।
नगरपालिकाको विशेष पहलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सुरक्षा निकायको सहयोगमा घटस्थापनाको अवसर पारी अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
जिल्ला सदरमुकाम सिलगढीबाट करिब आधा घण्टाको दुरीमा रहेको कलेना हरेक विकासका हिसाबले पछाडी परेको क्षेत्रका रुपमा लिइन्छ ।
विशेषतः कलेनाका मानिसहरुले सिलगढीमा दुध बेच्ने र सोही पैंसाले मदिरा सेवन गर्ने ठाउँका रुपमा लामो समयदेखि आलोचित छ ।
सोहि विषयलाई इंकित गर्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले अमृत बेचेर जहर किनेर खाने प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।


विशेषतः मदिराकै कारण कलेनामा विभिन्न विकृति विसङ्गती कायमै रहेको र त्यसको असर महिला र बालबालिकाहरुलाई परेको भन्दै अस्थायी प्रहरी पोष्ट स्थापना पछि यो समस्या समाधान हुनेमा मलासीले विश्वास व्यक्त गरिन् ।
अब गाउँमा प्रहरी पोष्ट स्थापना भईसकेकाले कुनै पनि महिलाले महिला हिंसा र अन्य विकृति विसङ्गती सहेर बस्न नहुनेमा उनले जोड दिइन् ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका उपप्रमूख शिवराज खड्काले आफुहरु निर्वाचित भईसकेपछी विकासमा पछाडी परेको क्षेत्र कलेनाको विकासलाई मध्येनजर गरी कामहरु अगाडी बढाईएको बताए ।
त्यस्तै डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले छोटो समयको प्रयासबाटै कलेनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको र सो क्षेत्रका आधा जति विकृतिविसङ्गती आजैबाट अन्त्य भएको आफुले विश्वास गरेको बताए ।गाउँमै प्रहरी पोष्ट स्थापना भईसकेपछि अब कुनै पनि अवाञ्छित गतिविधी नहुनेमा र कदमकदाचित भैहालेमा कानुनी दायरामा ल्याईने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख जनकराज पाण्डेयले अस्थायी प्रहरी पोष्टमा असईको नेतृत्वमा ७ जनाको टोली खटाईएको र जनताका पक्षमा प्रहरीप्रति गुनासो नआउने गरी काम गर्ने विश्वास दिलाए ।
यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनाका वडा अध्यक्ष धर्म बहादुर साउँदले आफु निर्वाचित भएर पदभार सम्हालेको भन्दा आज गाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न पाएकोमा बढी खुशी भएको बताए ।


वडा नं. ९ र दिपायल सिलगढी नगरपालिकाले वि.सं.२०७४ भाद्र ७ गतेबाट कलेनालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेता पनि मदिरा कारोबारको विगविगी भने रोकिएको थिएन भने मदिराकै कारण गाउँमा बेलाबेलामा झैंझगडा, कुटपिटका घटना बाहिरीने गरेका थिए ।
यस्तो वातावरण भएको कलेनामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिदिएकोमा सहयोगी सबैलाई वडा अध्यक्ष साउँदले विशेष धन्यवाद दिए ।
साथै उक्त प्रहरी पोष्टको जनशक्तिलाई परिचालन गर्न यहि कार्तिक ४ गतेको वडाको नियमित बैठकबाट थप निर्णयहरु गरेर कार्यान्वयनमा ल्याईने उनले बताए ।

हाललाई स्थानीय एक व्यक्तिको घरमा बस्ने गरी प्रहरी पोष्ट राखिएको र केहि समयपछि कलेना स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरी हालको स्वास्थ्यचौकी भवनमा प्रहरी पोष्ट राखिने नगरपालिका श्रोतले जनाएको छ ।


चार जना सम्मानित
कलेनामा अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि सहयोग गरेको भन्दै सोहि कार्यक्रममै ४ जनालाई सम्मान गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाको तर्फबाट नगर प्रमूख मञ्जु मलासीले डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, प्रहरी प्रमूख प्रहरी उपरिक्षक जनकराज पाण्डेय, शशस्त्र प्रहरी बलका प्रहरी प्रमूख प्रहरी उपरिक्षक भरत खनीयाँ र राष्ट्रिय अनुसन्धान कार्यालय डोटीका प्रमूख प्रहरी नायब उपरिक्षक हरिष बिष्टलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेकी हुन् ।

Leave A Reply

Your email address will not be published.