आरन व्यवसायी तिउरीलाई आम्दानी बढेसँगै समुदायले हेर्ने दृष्टिकोण नै बदलिएपछि …..
रमा भण्डारी
मंसिर ७, डोटी ।
“तिउरी, आजकाल तिम्रो श्रीमान निकै सहि बाटोमा आएका छन् । सधै दिनभरी लुखुर–लुखुर हिन्ने कि त भट्टितिर देखिने मान्छे आजकाल त घरको काममा निकै व्यस्त रहेका छन् । ५ सय, ६ सय मात्र भए पनि सापटि दिनुप¥यो भनेर सताउने मान्छे आजकाल त घरमा नआएको नि धेरै दिन भएछ भनेर भन्छिन हाम्रो छिमेकी बज्यै लिला भट्ट” यो भनाई हो तिउरी ताम्राकारको ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ५ पुन्ना घर भएकी तिउरी ताम्राकार सम विकास केन्द्र (इडिसी) नेपाल र एक्सनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित द महिला नेटवर्क परियोजनाद्वारा गठन गरिएको परिवर्तनशिल महिला समुहकी सदस्य हुन् । उनि एक दलित र विपन्न परिवारकी महिला हुन् । उनको घरमा ४ छोराछोरी र आफु दुइ श्रीमान श्रीमती गरी जम्मा ६ जनाको परिवार छ । उनि अहिले ४५ वर्षकी भईन् । उनको मुख्य पेशा आरन व्यवसाय हो । खेतिपाती गरेर खाउ भने पनि आफुसँग जग्गा जमिन थिएन । बाउ बाजेको पालादेखि नै आरनको काम गरेर खलो खाने चलन थियो । त्यसले एक, दुई महिना मात्रै खान पुग्थ्यो । दैनिक गुजारा चलाउन समेत गाह्रो हुन्थ्यो । उनको श्रीमानसँग आरनको काम गर्ने सिप भएता पनि उनिहरुसँग आरनको काम गर्ने औजार नभएको हुँदा काम छिटो र राम्रो नहुने भनेर उनकै गाउँका पनि टाढा अर्काे गाउँमा गएर पैसा तिरेर भाँडा कार्न जाने गर्दथे ।
त्यसपछि अरु केहि काम नपाएर श्रीमान लखरलखर हिन्यो कहिल्यै भट्टितिर त, कहिल्यै कसैको घरमा सापटी चाहियो भनेर माग्न जाने गर्दथे । जसले गर्दा सबैले हेला गर्ने र होच्याएर बोल्ने गर्दथे । तिउरी भन्छिन् – “श्रीमानलाई कसैले पनि नपत्याउने र घरखर्च चलाउन निकै गाह्रो भएपछि म आफै सबैको घरमा कामको खोजिमा जान्थें र चामल, गहुँ, नुन, खुर्सानी ल्याएर छोरा छोरी पाल्थें । मलाई दैनिक घर गुजारा चलाउन निकै समस्या भईरहेको हुन्थ्यो । आज खाए भोली के खाने भन्ने समस्याले सताउँथ्यो । कहिले त श्रीमान टाढा–टाढाको गाउँमा पनि कामको खोजिमा जानुहुन्थ्यो । तर आफुसँग फलामको काम गर्ने गतिलो साधन नहुँदा कतै काम नपाएर त्यसै घर फर्कनु हुन्थ्यो ।”

सन २०२० सेप्टेम्बरमा पुन्ना गाउँमा नयाँ महिला समूह गठन गरियो । समूहको मासिक बैठक हुन थाल्यो । समूहमा हिंसाको अवस्था, छाउपडि प्रथा, बालविवाह जस्ता सवालमा छलफल गरेसँगै सबै सदस्यहरुको जनजीवनको अवस्था बारेमा पनि छलफल गरिन्थ्यो । तिउरी सधै रोएर आफ्नो कथा व्यथाहरु सुनाउँथिन् । सबै जना निराश हुन्थे । यसै अवसरमा द महिला नेटवर्क परियोजनाद्वारा समूहमा रहेका यस्तै बिपन्न महिलाहरुको जनजीवनमा सुधार ल्याउन आरन व्यवसाय गर्ने सिप भएका घरधुरीहरुको छनोट गर्ने क्रममा समूह र वडाको निर्णय पनि तिउरीको परिवारमा सहयोग गर्ने भयो । यसरी परियोजनाद्वारा आरन व्यवसायको लागि आवश्यक पर्ने २० हजार बराबरको सबै सामाग्री सहयोग भयो । तिउरी र उनका श्रीमान् यो व्यवसायमा दिनरात खटेर लागे । जसले गर्दा उनिहरुले सामाग्री प्राप्त गरेको १ महिनामै रु १२ हजार बराबरको आम्दानी गरे जसले गर्दा यस व्यवसायतर्फ उनिहरुको लगाव बढ्दै गयो । तिउरीका श्रीमान राम भन्छन् – “पहिले म भाडा कारेर खलो खाने गर्दथे । किनकी पहिलेदेखि नै हाम्रो बाउबाजेहरुले यस्तै गरिराख्नु भएको थियो र मसँग काम गर्ने औजार सामाग्री पनि थिएन । त्यसैले मेरो घरमा भाँडाको काम कमै पनि आउँथ्यो । तर आजकाल मैले संस्थाद्वारा आरनका सबै सामाग्री पाएको हुँदा मसँग भएको सिपले अहिले राम्रोसँग काम गर्नसक्ने भएको हुँदा हाम्रो गाउँमा सबै जना मेरो घरमा भाँडा कार्न आउँछन । म अहिले खलो मा होइन, एक जनाबाट ५ सय कमाउने गरी काम गर्छु । जसले गर्दा मलाई रामै्र फाइदा भएको छ । अहिले अर्काे गाउँका मान्छेहरु पनि म कहाँ आएर काम दिन्छन् । अब मैले कसैको घरमा सापटी माग्न जानु पर्दैन । अहिले सबैले माया र सम्मानका साथ बोल्छन । पहिले ‘तँ’ भन्ने मान्छे अहिले तिमि, तपाईं भन्छन् । मेरो काममा श्रीमतिले पनि निकै सहयोग गरेकी छिन् । कोरोनाका कारण भएको लकडाउनको समयमा पनि हामि दुबै जना काममा थियौं । यसै अवधिमा हामिले रु ४० हजार आम्दानी गरेका थियांै । जसले गर्दा घरखर्च चलाउन निकै मद्दत पुग्नुका साथै यसै कमाईबाट श्रीमतीको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रु १५ हजार खातामा जम्मा गरेर राखेको छु ।”
साँझ खाए बिहान के खाने र बिहान खाए साँझ के खाने अवस्थामा रहेका तिउरी र उनका श्रीमानले आरन व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् र आफ्नो दैनिक जीवन सहज रुपमा बिताई रहेका छन् ।