‘माटो सुहाउँदो उत्पादन, उत्पादन सुहाउँदो बजारीकरण हाम्रो प्राथमिकता हो’ – मन्त्री चौधरी

990

मंसिर १३, डोटी ।
सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रमा माटो सुहाउँदो उत्पादन र उत्पादन सुहाउँदो बजारीकरणलाई प्राथमिकता दिएर काम गरिरहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताएकी छन् ।
कृषि ज्ञान केन्द्र डोटीको आयोजनामा डोटीको जोरायल गाउँपालिका वडा नं ६ निरौलीमा सम्पन्न सुन्तला जातका फलफूल, भट्मास, मह र चुक बजारीकरण सहयोग कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।
सुदूरपश्चिम प्रदेश सरकार गठन भए लगत्तै यसै नीति बमोजिम कामहरु भइरहेको उनले बताइन् ।
सुदूरपश्चिमका ९ जिल्लाका ८८ वटा स्थानीय तहमै कुन ठाउँमा कस्तो बाली वा खेतीपाती गरेर उत्पादन गर्न सकिन्छ र सोको बजारीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धित स्थानीय तहसङ्गको समन्वयमा आफुहरुले योजना बनाई अगाडी बढीरहेको उनलेे सुनाइन् ।
जोरायलको निरौली क्षेत्र सुन्तला उत्पादनमा राम्रो क्षेत्र भएकोले अब परम्परागत र निर्वाहमुखी नभएर व्यवसायिक रूपमा अगाडि बढ्न स्थानीय कृषकहरुलाई सुझाव पनि दिइन् । उनले सुदूरपश्चिमका ९ वटै जिल्लामा प्रमुख व्यापारीक केन्द्रको पनि विकास गर्न लागिएको बताइन् ।
स्थानीय किसानको प्रतिनिधित्व गर्दै सो वडाका अध्यक्ष लाल बहादुर साउदले मन्त्री चौधरीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । जसमा सुन्तलालाई व्यवस्थापन गर्न कोल्ड सेन्टर स्थापनाका लागि माग गरिएको छ ।
यसको जवाफमा मन्त्री चौधरीले जोरायल गाउँपालिकाभित्र एउटा र नजिकै जोडिएको कैलालीको सहजपुरमा पनि कोल्ड सेन्टर स्थापना हुन लागेकोले त्यसबाट सहज हुने बताइन् ।
आज शनिबार पनि भएकोले किसानको घरदैलोमै पुगेर स्थलगत अवलोकन समेत भएको भन्दै मन्त्री चौधरीले निरौलीको लागि गर्न सकिने कामका लागि तयार रहेको बताइन् ।
कार्यक्रम बोल्दै जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले किसान र अरु सबैको सहजताको लागि गाउँ गाउँमा सडक विस्तारमा प्राथमिकता दिएको र सुन्तलाको व्यवस्थापन गर्न प्रदेश सरकारले कोल्ड सेन्टर स्थापना गर्न सहयोग गरिदिन आग्रह गरे ।
त्यस्तै सुदूरपश्चिम कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले दु:ख गरेर कृषि उपज उत्पादन गर्ने किसानहरुले राम्रो मूल्य नपाउने तर व्यापारीले बसी बसी निकै महँगोमा बेच्ने गरेको कुरा नेपालकै लागि दुर्भाग्य भएको बताए । जसका लागि सम्बन्धित सबै निकायले गम्भीरताका साथ लाग्नुपर्ने उनले बताए ।
किसानहरुले गरेको उत्पादनहरुले स्थानीय क्षेत्रको पहिचान हुने गरी उत्पादन, लेबलिङ, ग्रेडिङ्ग तथा प्याकिङ्ग गरेर बजारीकरण गर्नु आवश्यक भएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचीव डा. किसनलाल भट्टले बताए ।
जोरायल गाउँपालिकासङ्गै जिल्लामा रहेका सम्पुर्ण स्थानीय तहका किसानहरुका लागि ज्ञान केन्द्र, स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र अन्य निकायका कार्यक्रम र
नितीगत व्यवस्था अनुसार आफुहरुले गर्नुपर्ने कामका लागि हरदम तयार रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।
उक्त कार्यक्रममा मन्त्रालयको टीम सङ्गै विभिन्न सरोकारवालाहरुको सहभागिता रहेकोे थियो ।
कार्यक्रममा सहभागीलाई कालिका फलफूल पकेट समिति अध्यक्ष दिलिप बोहराले स्वागत गरेका थिए ।
विस्तार गर्न लागिएको उनलेे बताइन् ।

Leave A Reply

Your email address will not be published.