महिला हिंसा अन्त्य गर्ने कुरा कार्यक्रममा होइन, व्यवहारमा लागु गर्न जोड
मंसिर १७, डोटी ।
महिला हिंसा अन्त्य गर्ने कुरा कार्यक्रममा मात्रै नभएर व्यवहारमा लागु गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले महिला जनप्रतिनिधी र राजनीतिकर्मी महिलाहरुसँग बुधबार दिपायल सिलगढी नगरपालिकामा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उप–प्रमूख शशी शोवले कुनै पनि मानिसमाथि कुनै पनि कारण शारीरिक, मानसिक, सामाजिक वा अन्य कुनै पनि हिंसा गर्न नहुने बताईन् ।
त्यस्तै नेकपा डोटीका सचिवालय सदस्य गीता नेपालीले महिलामाथि हुने हिंसासँगै सबै खाले विभेद अन्त्यका लागि आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको बताईन् ।
दिपायल सिलगढी नगरपालिका स्तरीय मेलमिलाप केन्द्र संयोजक समेत रहेकी उनले हालसम्म मेलमिलाप केन्द्रमा आएका ३० वटा जति मुद्दाहरु सबै मिलाएर पठाईएको बताईन् ।
त्यस्तै मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीका अध्यक्ष सरिता श्रेष्ठले हिंसाका घटनाहरु पूर्णतः निर्मूल पार्न नसकिए पनि कम गर्दै जानुपर्ने बताईन् ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका महिला जनप्रतिनिधीहरुले वडागत रुपमा भए गरेका कामबारे जानकारी गराउँदै वर्तमान समस्याहरु पनि औंल्याएका थिए ।
गरिबी, अशिक्षा, मदिरा आदि हिंसाका प्रमूख कारण भएको उनिहरुले बताएका छन् ।
हिजो मंगलबार पूर्वीचौकी गाउँपालिकामा पनि यसैगरी कार्यक्रम आयोजना गरिएको
मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीका कार्यक्रम संयोजक लक्ष्मी देउवा बमले बताईन् ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले औपचारिक अनौपचारिक कार्यक्रम गरिरहेका छन् ।