प्रहरी आफै गाउँघर पुगेर लैंगिक हिंसाबारे सचेतना फैलाउँदै
मंसिर १९, डोटी ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउँदै आएको यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज १० औं दिन । अभियानका क्रममा नेपालमा पनि देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि मनाईंदैछ ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय डोटीले शुक्रबार दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनामा सचेतामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्ल नेतृत्वमा महिला तथा बालबालिका सेवा केन्द्रको टिम र सरोकारवाला सहितको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमूख अतिथिको रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष धर्म बहादुर साउँदले गाउँमा कुनै पनि हिंसाका कुराहरु खुलेर बाहिर ल्याउनुपर्नेमा जोड दिए । समाजमा गलत गर्ने फटाहा प्रवृत्तिका मान्छे ढिलो चाँडो आफै नाङ्गिने बताउँदै कुनै पनि जनताका पीरमर्काहरुमा आफुबाट हुने सहयोगका लागि उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
आफु जनप्रतिनिधीका रुपमा निर्वाचित भए लगत्तै कलेना गाउँमा शान्ति सुरक्षा कायम गर्न पहिलो प्राथमिकतामा मदिरा निषेधित क्षेत्र घोषणा गर्न र गाउँमै प्रहरी चौकी स्थापना गर्न लागि परेको भन्दै आफुले काम गरेरै छोडेको बताए ।
यद्यपी गाउँमा मदिरा लुकिछिपी अँझै पनि कारोबार भईरहेकोमा आफुलाई सूचना प्राप्त भएमा वा प्रहरीलाई जानकारी आएमा तत्काल बरामत गरि कार्वाही गरिने उनले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक मल्लले प्रहरी सदैव जनताको सेवामा तत्पर रहेको र कुनै पनि घटनाबारे प्रहरीलाई खबर भएमा तत्काल खटिएर काम गर्ने विश्वास दिलाए ।

त्यस्तै महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज राम नाथले आफ्नो कार्यकालमा महिला, बालबालिका, जेष्ठ नागरिक लगाएत हिंसामा परेकाहरुका लागि उच्च प्राथमिकता दिएर काम गर्ने बताए ।
तेडी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधी, प्रहरी, विद्यालयका शिक्षक, पत्रकार, स्वयंसेविका र स्थानीय महिला लगाएतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा पत्रकार तथा कलाकार प्रेम नेपालीले सचेतनामूलक गीतमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।