करिब १८ वर्षदेखि विवादित बुडर–जोरायल सडकमा जुट्यो सहमती, मंगलबारदेखि काम सुचारु

मंसिर २४, डोटी ।
सडक निर्माण गर्ने क्रममा विवादित बनेको डोटीको बुडर–जोरायल सडकखण्डमा करिब १८ वर्षपछि सहमती जुटेको छ । सहमती भएसँगै मंगलबारदेखि डबल कटिङ्गको काम शुचारु भएको छ ।
बुडर–जोरायल सडकखण्डको बाँजिलेकदेखि खैरिखोला हुँदै जिजिकोट भएर तल्लो हाट जोड्ने गरी सर्भे भएकोमा बिचमा जग्गा विवादका कारण काम हुन सकेको थिएन । सर्भे भएको बाटोमा विवाद आएपछि बाँजिलेकबाट गुँयली हुँदै रावल गाउँ भएर तल्लो हाटसम्म सडक निर्माण गरी यातायात सञ्चालन भईरहेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको आयोजनाकै रुपमा रहेको बुडर–जोरायल सडक खण्डको रिठादेखि चन्कट्टेसम्मको १७.३० किलोमिटर सडक कालोपत्रे गर्न काम शुरु भएसँगै उक्त सडकमा रहँदै आएको विवादमा सहमती जुटेको हो ।
वि.सं. २०५८/५९ सालतिर सर्भे भएको ठाउँबाटै सडक निर्माण गर्ने सहमती भएर मंगलबारदेखि काम शुचारु भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

राजेन्द्र निर्माण सेवा डडेल्धुराको ठेक्का रहेको उक्त सडक कालोपत्रे गर्न कन्टेन्जेन्सी रकम सहित ७२ करोड कूल विनियोजित बजेटमध्ये ५६ करोड ३१ लाख १५ हजार ६ सय ५२ रुपैंया ४८ पैंसाको स्टिमेट बजेट रहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमूख रामचन्द्र खत्रीले बताए ।
हाललाई सडक कालोपत्र गर्न ३२ करोड ७१ लाख ४७ हजार ५ सय ६५ रुपैंया ३९ पैंसाको सम्झौता रहेको र त्यसका लागि वि.सं. २०७७ असार ३० गते ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए ।
विवाद सिर्जना भएपछि डाइभर्सन बदलेर बाँजिलेक गुँयली हुँदै तल्लो हाट जोडिएको अहिले सञ्चालनमा रहेको बाटो स्टिमेटबाट पहिले नै क्यान्सिल भैसकेको जनाईएको छ ।
राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको उक्त ठेक्का क्षेत्र बहादुर खड्का, चित्र भट्ट र बिर बहादुर दर्लामीसँग पेट्टी ठेक्का सम्झौता भएर रिठाबाट चन्कट्टेसम्मका लागि अगाडी बढाईएको कामको असोज २५ गते सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका थिए ।
बुडर–जोरायल सडक खण्डको बुडरदेखि रिठासम्म करिब १२ किलोमिटर सडक कालोपत्रेको काम पनि करिब अन्तिम चरणमा छ ।
नाली खन्ने, पानी पिच गर्ने काम भैसकेको छ भने अहिले बेस तयार गरी अन्त्यमा कालोपत्रे बिच्छ्याईने छ । आगामी जेठभित्र उक्त कार्य पनि पूरा गर्ने गरी काम भईरहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
