‘शिक्षा मानवलाई मानवको तहमा पुर्याउने माध्यम हो’ – सभाषद सिंह
माघ ९, डोटी ।
संविधान सभाका सदस्य हर्क बहादुर सिंहले शिक्षा मानवलाई मानवको तहमा पुर्याउने माध्यम भएको बताएका छन् ।
पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैनको पट्कानीस्थित भगवती आधारभूत विद्यालयको सामाजिक परीक्षण तथा नवनिर्मित २ कोठे भवनको समुद्घाटन कार्यक्रमका प्रमूख अतिथि सिंहले यस्तो बताएका हुन् ।
कुनै पनि विद्यालयको प्रगतिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध राम्रो हुने उनले बताए ।
कार्यक्रममा बोल्दै स्थानीय युवा नेता तथा सोहि विद्यालयका पूर्व शिक्षक समेत रहेका डम्बर सिं डौडीले राजनीतिक पूर्वाग्रहका आधारमा विद्यालयको विकासमा ध्यान नपुगेकाले सबैले जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै पूर्वीचौकी गाउँपालिका वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष बिर बहादुर खड्काले आगामी दिनमा विद्यालयका लागि हुनसक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।
सामाजिक परीक्षण समितिका संयोजक मोहन सिं धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक क्षेत्र बहादुर खड्काले विद्यालयको वर्तमान अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि कार्यक्रमका सहभागिहरुले छलफल समेत गरी सर्वसम्मत पारित गरेका थिए ।
सो विद्यालयमा डोटीबाट प्रदेश सभा सदस्य अर्चना गहतराजको सिफारिसमा सुदूरपश्चिम प्रदेश सरकारको २० लाखको लागतमा बनेको २ कोठे पक्की भवनको पनि आजै समुद्घाटन गरिएको हो ।

