खप्तडका अध्यक्ष सिंह र कार्यकारी खड्काद्वारा पदभार ग्रहण
माघ १२, डोटी ।
खप्तड क्षेत्र पर्यटन विकास समितिका नवनियुक्त अध्यक्ष हर्क बहादु सिंह र कार्यकारी निर्देशक भीम बहादुर खड्काले सोमबार पदभार ग्रहण गरेका छन् ।
समितिको सिलगढीस्थित कार्यालयमा दुवै जनाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै अध्यक्ष सिंहले खप्तड क्षेत्र पर्यटन विकास समितिमा हालसम्म भए गरेका कामहरुको अध्ययन गरी श्वेत पत्र जारी गर्ने, खप्तडलाई सुदूरपश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नेपालभित्र र नेपाल बाहिरका मानिसहरुले पनि खप्तड घुम्न आउने गरी प्रचारप्रसार गर्ने, भौतिक सुविधाको विकास गर्ने लगाएतका काम गरिने बताए ।
खप्तडको विकासका लागि विभिन्न सरकारी तथा अन्य निकायबाट सम्भावित श्रोतको खोजी गरी खप्तड घुम्न आउने पर्यटकहरुलाई भ्रमण सहज हुने गरी पूर्वाधार विकास गर्नमा आफु लागि पर्ने उनले प्रतिबद्धता जनाए ।
यतिञ्जेल खप्तडको परिचय लुटी खाने भ्रष्टाचारीहरुको अखडा भनेर चिनिने भए पनि आफ्नो ४ वर्षे कार्यकालमा निर्विवादित र पारदर्शी ढङ्गले काम हुने अध्यक्ष सिंहले विश्वास दिलाए ।
त्यस्तै नवनियुक्त कार्यकारी निर्देशक भीम बहादुर खड्काले पर्यटन भनेको गरिबी निवारणको महत्वपूर्ण पाटो भएकाले आफु त्यसैमा लागि पर्ने बचनबद्धता जनाए । आफुले पाएको जानकारी अनुसार यसपूर्व खातामा रहेको १६ लाख र सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ३ करोड बजेट चालु आर्थिक २०७७/७८ वर्षभित्र खर्च गरिने निर्देशक खड्काले बताए ।
आफुले अब सबैभन्दा पहिले खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालयको वेवसाइट निर्माण गरी त्यसमा खप्तड जाने खाका सहितको जिआईएस राखिने र अनलाइन डाटा राखिने बताए ।
खप्तडको विकासका लागि सर्वपक्षीय सहभागितामूलक योजना निर्माण, सहभागितात्मक कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन र अन्त्यमा त्यसको सिकाईमा केन्द्रित हुने गरी काम गरिने निर्देशक खड्काले बताए ।
खास गरी राज्यमा राजनीतिक एवं सरकार सञ्चालनमा उथलपुथल नभएमा आफुले राम्रो काम गरेर देखाउने अध्यक्ष सिंह र निर्देशक खड्काले प्रतिबद्धता जनाएका छन् ।
पदभार ग्रहणका क्रममा डोटीमा क्रियाशील पत्रकारहरु र खप्तड क्षेत्र पर्यटन विकास समितिका कर्मचारीहरुको सहभागिता रहेको थियो ।