खप्तड ‘हेली टुर’ शुभारम्भ, मूख्यमन्त्री भट्ट सहित ३ मन्त्रीद्वारा खप्तड भ्रमण
माघ १४, डोटी ।
सुदूरपश्चिम प्रदेशको मूख्य प्राकृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय स्थल खप्तड भ्रमणका लागि ‘हेली टुर’ शुभारम्भ भएको छ ।
डोटीबाट खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ का सञ्चालक दीपक बहादुर खड्काले ‘हेली टुर’ प्याकेज सञ्चालनमा ल्याएका हुन् ।
छोटो समयमै खप्तड भ्रमण गर्न सकिने गरी सञ्चालित ‘हेली टुर’ को शुभारम्भकै दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित दर्जनौं मानिसहरु खप्तड क्षेत्रको भ्रमण तथा मनोरञ्जन लिएका छन् ।

हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट समेत जान सकिने गरी उडानको छुट्टाछुट्टै प्याकेज बनाईएको ‘हेली टुर’ सञ्चालक एवं खप्तड होमस्टे व्यवसायी खड्काले बताए ।
‘हेली टुर’ कार्यक्रमको शुभारम्भका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आफुले ठोस विकासका काम गरिरहेको बताए । खप्तड जानका लागि कानुनी रुपमा लैजानु पर्ने सिलगढी झिग्राना सडक अहिले पीच गर्न लागिएको, खप्तड राष्ट्रिय निकुञ्जभित्रै झिग्रानादेखि बिचपानीसम्म साना खालका गाडीहरु लैजाने गरी भए पनि सडक लैजानका लागि निकुञ्जकै जिम्मेवारीमा डिपिआर तयारीका लागि आफुहरुले बजेट व्यवस्था गरेको, डिपिआर पास भई त्यसको रिपोर्ट आएमा प्रदेश सरकारले व्यवस्था गरेर सडक निर्माण गरिने बताए ।
त्यस्तै अण्डरग्राउण्ड विद्युत लाइन विस्तारका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरिरहेको, सञ्चारको सुविधाका लागि पनि सम्बन्धीत निकायमा कुरा भईरहेको उनले बताए ।
खप्तडमा किन पर्यटकले घुम्न आउने त ? भन्ने प्रश्नमा मूख्यमन्त्री भट्टले खप्तड आफैमा धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्रका साथै सभ्यताको दृष्टिकोणले पनि राम्रो भएको बताए । तर त्यस क्षेत्रमा खाने बस्ने राम्रो प्रबन्ध नभएको हुनाले खप्तड नजिक होटेल व्यवसाय क्षेत्रका लगानीकर्ता आईदिन आग्रह गर्दै प्रदेश सरकारले गर्ने सहयोगका लागि तयार रहेको बताए ।
खप्तड क्षेत्र पर्यटन विकास समितिका पूर्व अध्यक्ष समेत रहेका मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा बढीभन्दा बढी पर्यटक खप्तड भित्र्याउने लक्ष्य रहेको बताए ।
नेपालको हकमा खप्तडको जस्तो दृष्यावलोकन र आनन्द लिने ठाउँ नेपालमै नभएको र सम्भवतः अन्यत्र पनि नभएकोले पनि खप्तड घुम्नैपर्ने ठाउँ रहेको उनले बताए । धार्मिक रुपमा परीचित र मानव सभ्यताको क्षेत्र पनि भएको, खप्तड बाबाको ध्यान गरेको ऐतिहासिक क्षेत्र, डोटी, अछाम, बझाङ, बाजुरा चार जिल्लाको बिचमा रहेको आनन्द र मन शान्त पार्ने क्षेत्रका साथै हाइ अल्टिच्युटमा हुने खेलकुदका लागि पनि महत्वपूर्ण ठाउँ खप्तड भएकाले यसका लागि प्रदेश सरकार लागि पर्ने उनको प्रतिबधता थियो ।
यसैबिच डोटीबाट खप्तड प्रवेशद्वार पूर्वीचौकी गाउँपालिका २ को वाडी गाउँलाई पर्यटन गाउँका रुपमा प्रदेश सरकारले प्रस्ताव गरिसकेको र निकट भविष्यमै देखिने गरी काम अगाडी बढाईने सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले बताईन् ।
त्यस्तै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबिच समन्वय र सहकार्य गरी सबै खालका कानुनी जटिलता हटाउँदै खप्तडको विकासमा आफुहरु लागि परेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले प्रतिबद्धता जनाए ।
‘हेली टुर’ को पहिलो दिन ३ जना मन्त्री सहित पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा, खप्तड क्षेत्र पर्यटन विकास समितिका नवनियुक्त अध्यक्ष हर्क बहादुर सिंह, कार्यकारी निर्देशक भीम बहादुर खड्का, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल, केहि पत्रकार र पर्यटनप्रेमी पर्यटकहरुले खप्तड भ्रमण गरेका छन् ।
‘हेली टुर’ प्याकेज यहि माघ १८ गतेसम्म रहने जनाईएको छ । यस अवधीमा ३ सय पर्यटकहरुलाई खप्तड भ्रमण गराउने लक्ष्य रहेको ‘हेली टुर’ सञ्चालक खड्काले नजर अनलाईनलाई जानकारी दिएका छन् ।
