डोटीमा पनि देखियो बाघ, एक सातामा एकै गाउँका ८ पशुचौपायाको ज्यान लियो
निश्चल नरेश बोगटी
फागुन ९, डोटी ।
डोटीमा पनि बाघ देखिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ आली अतुरालीको गुबाडी क्षेत्रको जंगलमा बाघ देखिएको स्थानीयले बताएका छन् ।
गाउँ नजिकैको जंगलमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । अहिलेसम्म मानविय क्षति नभए पनि पशुचौपायाको भने क्षति भएको स्थानीय खगेन्द्र बोगटीले बताए ।
बोगटीका अनुसार गाउँ नजिकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जंगलमा विगत लामो समयदेखि लेकाली बाघ बस्दै आएको छ । दिउँसो वनमा डुल्ने तथा रातमा भने गाउँ भित्रै पसेर गाउमा आतंक मच्चाइ रहेको छ ।
बाघले दिनप्रतिदिन बनमा चर्न लागेका गोरुबाख्राको ज्यान लिन थालेको जनाइएको छ । गएको एक सातामा गाउँका ८ वटा पशुचौपायाको ज्यान लिएको स्थानीयले बताएका छन् । जस अन्तर्गत स्थानीय खगेन्द्र बोगटीको बाछो, कलु देवी बोगटीको गाई, शेर बहादुर बोगटीको बाख्रा र करी पार्कीका दुईवटा बाख्रा मारेको स्थानीय तेजबहादुर बोगटीले बताए ।
स्थानीय राम बहादुर बोगटीले कृषि तथा पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका कृषकहरु माथि जंगली जनावरले आतंक मच्चाउन थालेपछि गाउँबासी चिन्तामा रहेको बताए । महिनौंसम्म गोडमेल गरेर हुर्काएको बालीनाली बदेलले सिध्याइदिने र पालेका गोरुबाख्रालाई बाघ तथा स्याल आएर खाइदिने समस्या रहेकोे उनले बताए ।
आली अतुराली गाउको जंगलमा बर्षेनी बाघ आइरहन्छ । सम्भावित खतरालाई मध्यनजर गर्दै बाघलाई नियन्त्रण गर्न प्रशासनलाई गाउँबासीको माग रहेको छ ।