महिलाको प्रतिनिधित्व होइन, नेतृत्व हुनुपर्छ – काँग्रेस नेतृ संग्रौला

557

फाल्गुन ८, डोटी ।

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं विघटित प्रतिनिधी सभा सदस्य डा. डिला संग्रौलालले महिलाहरुको प्रतिनिधित्व मात्रै नभएर नेतृत्व आवश्यक भएको बताएकी छन् ।
काँग्रेसको महिला संगठन नेपाल महिला संघको अभियानका क्रममा विभिन्न जिल्ला दौडाहामा रहेकी नेतृ डोटी पुगेका बेला प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
विशेष गरी नेपाली काँगे्रसको आगामी महाधिवेशनमा केन्द्रिय कमिटिको पदाधिकारीमा महिलाको प्रतिनिधित्व र पार्टीको केन्द्रिय कमिटिमा महिला सहभागिता बढाउन आफुहरु लागिरहेको उनले बताईन् । उनले भनिन्–‘हामी महिलाको एक तिहाई प्रतिनिधित्वको मात्रै कुरा गरिरहेका छैनौं, महिला नेतृत्व हुनुपर्छ भन्नेमा हामी छौं ।’
पत्रकारको जिज्ञासामा के.पी.ओली नेतृत्वको वर्तमान सरकारले गरेको संसद विघटन प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक भएको उनले बताईन् ।
विशेष गरी नेकपाको करिब दुइ तिहाईको सरकारले शुरुवातबाटै जनभावनामाथि खेलबाड गरेको उनको आरोप छ ।
पछिल्लो समयमा देशमा व्याप्त कोरोना महामारीमा जनताको पक्षमा काम गर्न नसकेको, ओम्नी समूह र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार बढेको लगाएतका कामले पनि अस्थिरता निम्त्याएको उनले बताईन् ।
जनताको आवश्यकता भनेको स्वास्थ्य, शिक्षा, रोजगार भएको भन्दै सरकारले रेल र पानी जहाजका सपना बाँडेको उनले बताईन् । जसले गर्दा के.पी.ओली सरकारले समृद्धिको टोपी लगाएर शुरु गरेको यात्रा अहिले तुहिसकेको उनको भनाई थियो ।
खास गरी नेपालमा राजनीतिक अस्थिरता पैदा हुनुमा आन्तरिक र बाहिरी चलखेल बढेको उनले बताईन् ।
नेकपाभित्रको विवादलाई इंकित गर्दै लोकतन्त्रमा कुनै पनि पार्टीमा टुटफुटको स्थिती आउनु राम्रो नभएको पनि उनको भनाई थियो ।
नेपाली काँग्रेस संसद विघटनको विरुद्धमा रहेको बताउँदै सर्वाेच्च अदालतको फैसला जस्तोसुकै आए पनि आफुहरुले त्यसलाई मान्न भने तयार रहेको उनले बताईन् ।
पाँच वर्षका लागि जनताले काँग्रेसलाई प्रतिपक्षीको जिम्मेवारी दिए पनि नेकपालाई भने बहुमत नपचेको उनको धारणा थियो ।
यस्तै भर्खरैको बैतडीकी भागरथी भट्टको बलात्कारपछिको हत्या प्रकरणमा आफुहरु स्थलगत अध्ययन गरेर आएको र प्रहरीले घटनामा संलग्न रहेको भन्दै एक युवकलाई सार्वजनिक गरिसकेको अवस्थामा घटनाको सत्यतथ्य अनुसन्धान गरिनुपर्ने उनले बताईन् ।
No description available.प्रेस युनियन डोटीका सभापती प्रकाश बमको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेतृ संग्रौला सँगै लुम्बीनी प्रदेश सभाका सचेतक एवं नेपाली काँग्रेस नेतृ निर्मला क्षेत्री, नेपाली काँग्रेस डोटी सभापती प्रदिप देउवा, महिला संघ केन्द्रिय कोषाध्यक्ष जानकी सिंह, केन्द्रिय सदस्य शोभा चेमजोङ पालुङ्गा, गिरीजा न्यौपाने, काँग्रेस डोटी सचिव नारायण जोशी लगाएत नेता कार्यकर्ता र डोटीमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेतृ संग्रौलाले आजै शनिबार डोटीको शिखर नगरपालिकामा पनि नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.