डोटीको बोगटानमा निःशुल्क बाख्रा वितरण, स्थानिय हर्षित
लोकेश ‘शिरीष’ अधिकारी
फागुन १०, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौका स्थानीय इशरा बोहरा दम्पत्ति खुशिले गदगद छन । कोरोना महामारीकाबिच जीविका चलाउन भन्दै भारत पसेका श्रीमान सन्तोष बोहरा काम नपायर रित्तै घर फर्किनुपर्यो । उनि घर फर्केको केहि दिनमा अनुदानमा ३ वटा बाख्रा पाएपछि उनिहरुमा खुसि छाएको हो । “दैनिक जीविका चलाउनका लागी भारत गएको थिएँ, त्यहाँ कुनै काम पाइएन, अब बाख्रा पालेर जीविका चलाउछु,” सन्तोषले भने । घरमा लगाएको खेतीपातीले ६ महिना खान पुग्दैन थियो, यसपाली पर्याप्त पानी पनि नपरेकोले भोकमरी हुने चिन्ता थियो, अब आफुसँग भएको ४ वटा सहित ७ वटा बाख्रालाई जीविकोपार्जनको माध्यम बनाउने इशरा दम्पत्तिको योजना छ । इशरा भन्छिन, “अनुदानमा बाख्रा पाइएको छ, यो हाम्रा लागि सुनौलो अवसर हो ।” त्यस्तै योजना सुनाउँछन, धिर्कामाण्डौकै अर्का स्थानीय जवान सिं बोहरा । “अनुदानका ३ वटा बाख्रा बाटै ५०÷६० पुर्याएर यसलाई व्यवसायका रुपमा अगाढि बढाउने सोचमा छु,” जवान सिं भन्छन् ।
त्यस्तै धिर्कामाण्डौंकै अर्का स्थानीय सीतादेवी ढोलीको पनि खुशीको सिमा छैन । बाख्रा पाएपछि सधै खोजमेल गरेर केटाकेटीको पालनपोषण गर्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेमा उनी आशावादी छन् । बिमा गर्नका लागि बाख्रा डोर्याउदै गर्दा उनको अनुहारमा झल्केको खुशिको सिमा नै थिएन । “शर ! अब त मेरा दुःखका दिन गए, बाख्रा पालेर केटाकेटी हुर्काउँछु, श्रीमानले पठाएको पैसाले अन्य केही काम गर्छु” सिता देवी भन्छन् । ३ छोरी र १ छोराकी आमा सिताका श्रीमान दैनिकी चलाउनकै लागि २ महिना अगाडी भारत पसेका छन् ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सिड नेपाल डोटीले बोगटान फुड्सिल गाउँपालिका सँगको समन्वयमा गाउँपालिका स्थित वडा नम्वर ५ को धिर्कामाण्डौका २५ घरधुरीलाई निःशुल्क बाख्रा वितरण गरेको छ ।
हरेक घरधुरीलाई ३ वटाका दरले ७५ बाख्रा र २ बोका वितरण गरेको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताए । वितरण गरिएका बाख्राहरुका लागि २५ वटा खोर समेत निर्माण गरिदिएको कोषाध्यक्ष जोशीले बताए ।
जीवकोपार्जन पूर्नस्थापनाका लागी जलवायू संवेदनशील सुशासन परियोजना अन्तर्गत बाख्रा वितरण गरिएको परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिए । वितरण गरिएका बाख्राको रेखदेख तथा दिगोपनाका लागि समय समयमा निरिक्षण गरिने संयोजक रोकायाले बताए । सिड नेपाल डोटीले दातृ सँस्थाहरुको सहयोग तथा गाउँपालिकासँगको समन्वयमा बोगटान फुड्सिल गाउँपालिकामा करिब २ सय बाख्रा वितरण गरिसकेको जनाईएको छ ।

