डोटीको सिलगढीमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना
फाल्गुन ६, डोटी ।
डोटीमा मंगलबार जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने गरी उक्त केन्द्रको स्थापना गरिएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ५ सिलगढीको इन्द्रचोकमा एक निजि घरमा सो केन्द्रको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै निर्देश अवस्थीले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका ९ वटै जिल्लामा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको बताए । सेवाग्राहीको चापका आधारमा सेवासुविधा थप गर्दै लगिने पनि निर्देशक डा.अवस्थीले वचनबद्धता जनाए ।

त्यस्तै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले डोटी जिल्लाको सदरमुकाम भएकाले सिलगढीमा उक्त केन्द्र स्थापना गरेकोमा स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयको टिमप्रति आभार व्यक्त गरिन् ।
दिपायल सिलगढी नगरपालिकाले पनि स्वास्थ्य, शिक्षा र खानेपानीलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउँदै स्वास्थ्य सेवाको सहज पहुँच नभएका ग्रामिण क्षेत्रमा वर्षमा कम्तिमा दुइ पटक स्वास्थ्य शिविर सञ्चालन गर्न सके जनताले राम्रो सेवा पाउने उनले बताईन् ।
कार्यक्रममा बोल्दै डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले स्वास्थ्य क्षेत्रमा जनसंख्याको बढ्दो चापका कारण स्वास्थ्य सेवा पहुँच बढाउनुपर्ने र जनस्वास्थ्य प्रवद्र्धन केन्द्रलाई उद्धेश्य अनुरुप सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
नागरिकको संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी अधिकारको केहि हदसम्म भए पनि पूरा गर्न जनस्वास्थ्य प्रवद्र्धन केन्द्रले टेवा पुर्याउने स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले बताए ।
पछिल्लो समयमा करिब ८० प्रतिशत मृत्युको कारण नसर्ने रोग भएकाले उक्त केन्द्रले त्यसबारे प्रवद्र्धनात्मक सेवा प्रदान गर्ने जनाईएको छ । उक्त केन्द्रमा एक जना एच.ए., एक जना अ.हे.व., एक जना अ.न.मी. र एक जना कार्यालय सहयोगी गरी ४ जना जनशक्ति परिचालन गरिएका छन् ।
जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सो केन्द्रको स्थापना गरिएको हो ।

