कानुनी व्यवस्था ‘एडभान्स’, कार्यान्वयन ‘परम्परागत’

733

चैत्र ५, डोटी ।

नेपालमा कानुनी व्यवस्था एडभान्स भए पनि कार्यान्वयन भने परम्परागत तवरले भैरहेको डोटीका विभिन्न सरोकारवालाहरुले बताएका छन् ।

सम विकास केन्द्र नेपाल (इडिसि) डोटी र राष्ट्रिय मुक्त हलिया समाज, डोटीको आयोजनामा समता फाउण्डेशनसँगको सहकार्यमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ कार्यान्वयन र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पत्रकार एवं अधिकारकर्मी रामहरी ओझाले कानुनी व्यवस्था एडभान्स भए पनि कार्यान्वयन भने परम्परागत तवरले भैरहेको बताए । उनले प्रहरीमा आउने मुद्दालाई नहेरेर मुद्दा ल्याउने मान्छे हेरिने गरेको बताए ।

त्यस्तै दलित अगुवा तथा नेपाली काँग्रेसका नेता कुमार सिं टेलरले दलित समुदायका मानिसहरुले आफुमाथि भएको विभेदबारे मुद्दा दर्ता गराउनका लागि आर्थिक अभावमा न्यायिक निकायसम्म पुग्न नसकेको बताए । यसका साथै कानुन जती राम्रो बने पनि प्रभावकारी कार्यान्वयको भने कमि रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का शिवराज आउजीले आफुमाथि गत पुष २० गते खेतबारीमा घाँस काटेकै विषयलाई लिएर गाउँमा झगडा परेको र सोहि क्रममा जातीय विभेदसँगै कुटपिट समेत भएको भन्दै तयार गरिएको जाहेरी हातमा देखाउँदै सो मुद्दा प्रहरीले दर्ता नगरीदिएको दुःखेसो पोखे ।

जवाफमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले बाहिर बाहिर प्रहरीले मुद्दा दर्ता गर्नै नमान्ने खालको गुनासो सुन्नमा आए पनि घटनाको प्रकृति हेरेर कानुन बमोजिम रितपूर्वक आएको जाहेरी सहजै दर्ता हुनेमा ढुक्क रहन विश्वास दिलाए ।

त्यस्तै डोटीका सहायक प्रमूख जिल्ला अधिकारी किरण जोशीले हाम्रो अहिलेको समाज कुरो गर्दा २१ औं शताब्दीका गर्ने र व्यवहारमा छोइछिटोको विभेद गर्ने खालको देखिएकाले सचेतना अभिवृद्धि अपरिहार्य रहेको बताईन् । जोसुकै मान्छे जन्मने बेलामा एउटै प्रक्रियाबाट नाङ्गै जन्मने र मरेपछि नाङ्गै जाने भन्दै सबै मान्छे समान भएको बताईन् ।

त्यस्तै गैर सरकारी सँस्था महासंघ डोटी अध्यक्ष रघु कठायतले स्थानीय स्तरमा जातीय विभेदको यथार्थ अवस्थाका आधारमा स्थानीय तहका सरकार बढी जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । स्थानीय तहका सरकारका योजना र काममा सामाजिक संघसँस्थाहरु पनि साझा एजेन्डा बनाएर काम गर्न तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै बोगटान फुडसिल गाउँपालिका डोटीका अध्यक्ष कमल बहादुर गड्सिलाले कार्यक्रममा उठेका सवालहरु आफ्ना लागि महत्वपूर्ण भएको बताए । साथै ति मार्गदर्शक सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्ने भन्दै आफुले भौतिक विकासभन्दा पनि सामाजिक विकास सबै विकासको जग भएको बताए ।

त्यस्तै सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले आफु वि.सं. २०४७ सालदेखि हालसम्म पनि जातीय छुवाछुतको अन्त्य लगाएतका सामाजिक अभियानमा लागिरहेको भए पनि अहिलेसम्म पनि उहि विषयमा बहस गर्नुपर्ने परिस्थिती हुनुले समाज परिवर्तन हुन अँझै बाँकी रहेको बताए ।

देशमा कोरोना महामारी फैलिंदा संक्रमितलाई परिवारका सदस्यहरुले हेर्न र छुन नपाईने अवस्थाको छट्पटीले मान्छेलाई हैरान बनाएको भन्दै मान्छेले मान्छेलाई जातीय आधारमा सधैंभरी नछुने बनाउँदाको चोट कति होला भन्दै अध्यक्ष बिसीले यक्ष प्रश्न गरे ।

अन्य विभिन्न सहभागीहरुले समाजमा जातीय विभेदको प्रकृति फेरिए पनि अवशेष अँझै बाँकी रहेको र दलित समुदायको आर्थिक शशक्तिकरणमा जोड दिनुपर्ने र आम नागरिकमा सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

No description available.

Leave A Reply

Your email address will not be published.