डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण, जोरायलमा मात्रै २४ जना संक्रमित
बैशाख २२, डोटी ।
डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण देखा परेको छ । जोरायल गाउँपालिकामा मात्रै २४ जना कोरोना संक्रमित बिरामी देखिएका छन् ।
पीसिआर प्रयोगशालामा परीक्षण गरिएका १ सय २४ वटा आरटीपीसिआर परीक्षण मध्ये ३१ जना र विभिन्न स्थानीय तहहरुमा कन्ट्याक्ट ट्रेसिङ्गबाट गरिएका ४७ वटा एन्टिजेन परीक्षण मध्ये १५ जनामा कोरोना संक्रमण नतिजा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय डोटीले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।
जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा गरिएको आरटिपीसिआर परीक्षण र अन्य विभिन्न ठाउँमा गरिएको एन्टिजेन परीक्षणबाट जिल्लाका विभिन्न स्थानीय तहका ११ जना महिला र ३५ जना पुरुष गरी जम्मा ४६ जना कोरोना पोजेटिभ बिरामी देखा परेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमूख उद्धव बहादुर ठगुन्नाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
जस अन्तरगत जोरायल गाउँपालिकाका २४ जना, दिपायल सिलगढी नगरपालिकाका १२ जना, बडिकेदार गाउँपालिकाका ४ जना तथा शिखर नगरपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका २/२ जनामा कोरोना संक्रमण देखा परेको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ डोटीमा वि.सं. २०७७ जेठ १९ गते एक पुरुषमा पहिलो पटक देखा परेको थियो । वि.सं. २०७७ चैत्र मसान्तसम्ममा डोटीमा १३ हजार १ सय ६० जनाको आरटीपीसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय १ जनामा कोरोना संक्रमण देखा परेको थियो । त्यस्तै सोहि मितिसम्ममा १ हजार २ सय ४८ जनाका एण्टिजेन परीक्षण गरिएकोमा २० जनामा कोरोना पोजेटिभ देखा परेको थियो ।
जस आधारमा गत चैत्र मसान्तसम्ममा कूल कोरोना पोजेटिभको संख्या १ हजार ४ सय २१ पुगेर सबै संक्रमितहरु कोरोनामुक्त भैसकेका थिए भने आम जनजीवन सामान्य अवस्थामा पुगिसकेको थियो ।
तर पछिल्लो समयमा एकाएक कोभिड–१९ को दोश्रो चरणको संक्रमण देखा पर्न थालेपछि वि.सं.२०७८ बैशाख १ गते यता डोटीमा कोरोना संक्रमितको संख्या २ सय ८५ पुगेको छ । जसमध्ये १ जना पुरुषको आज बुधबार निधन भएको छ । जुन डोटीमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो घटना पनि हो ।
यसका साथै ७ जना कोरोनालाई विजयी गरेर ७ जना डिस्चार्ज भई घर फर्केका छन् भने २ सय ७७ जना अहिले सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना प्रभावित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ्ग गरी स्वाव संकलन गर्ने र परीक्षण गर्ने कार्य जारी रहेको, कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न तथा जिल्लामा जारी निषेधज्ञाको पूर्ण पालना गर्न पनि स्वास्थ्य कार्यालय डोटीले आम जिल्लाबासीहरुमा अनुरोध समेत गरेको छ ।
