सुदूरपश्चिमका एमाले नेता कठायतको कोरोना संक्रमणबाट निधन, एमाले डोटीद्वारा दुःख व्यक्त

650

बैशाख ३०, डोटी ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर कठायतको कोरोना संक्रमणबाट निधन भएको छ ।
डोटीको शिखर नगरपालिका वडा नं. ३ घर भई हाल कैलालीको धनगढी सन्तोषी टोलमा बस्दै आएका ४८ वर्षिया कठायतको कोरोना संक्रमणबाट निधन भएको हो ।
संक्रमणपश्चात पछिल्लो केहि दिन यता सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कठायतको अक्सिजनको अभावमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
केहि दिन पहिले नै बिरामी भईसकेका नेता कठायतलाई बिरामीले निकै च्यापेपछि अक्सिजनको साहरामा बाँचिरहेका थिए ।
लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर जीवन बिताएका कठायत नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकतापश्चात नेकपा प्रवेश गरेर उनलाई सुदूरपश्चिम प्रदेश कमिटि सदस्यको जिम्मेवारी दिईएको थियो ।
नेकपा विगठन भई एमाले र माओवादी पार्टी ब्युँतिएपछि उनि एमालेको राजनीतिमा सक्रिय रहेका थिए ।
मृतक कठायतका भाई नाता पर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीका अध्यक्ष गणेश बशादुर कठायतका अनुसार मृतककी श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

एमाले डोटीद्वारा शोक व्यक्त
यसैबिच नेता कठायतको निधनप्रति नेकपा एमाले डोटीले शोक व्यक्त गरेको छ ।
एमाले डोटीका सचिव लक्ष्मण मलासीद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा नेता कठायतको निधनप्रति सिंगो नेकपा एमाले पार्टी मर्माहत भएको जनाइएको छ ।
साथै मृत आत्माको चीर शान्तिको कामना सहित सिंगो शोकाकूल परिवारमा पार्टीको तर्फबाट समवेदना समेत प्रकट गरिएको छ ।
नेता कठायतको निधनले एमाले डोटीका लागि अपुरणीय क्षती पुगेको जिल्ला समन्वय समिति डोटीका प्रमूख एवं नेकपा एमाले डोटीका अध्यक्ष राम बहादुर ऐरले बताए ।

Leave A Reply

Your email address will not be published.