एमाले नेता माधव नेपाल सहित चार जनालाई गरिएको कारवाही फुकुवा
बैशाख ३०, काठमाण्डाै ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।
विहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
ती चार नेताहरु पार्टी हीतविरुद्ध लागेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए ।
यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार स्थायी कमिटीको बैठकले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको जनाइएको छ ।
बैशाख २७ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदा अनुपस्थित भएर एमालेकै माधव नेपाल पक्षका सांसदले अल्पमतमा पारेका थिए । त्यसपछी राष्ट्रपतीले सहमतिमा वैकल्पिक सरकार गठनका लागि बैशाख ३० गतेभित्र आह्वान गरेकोमा माधव नेपाल समुहले सांसदबाट राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकै बेला बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।