लगातारको वर्षाका कारण देशभर जनजीवन कष्टकर बन्दै

427

शालिभान साउँद
असार ३, डोटी ।
मनसुनी वायु सक्रिय हुँदा केही दिनदेखिको लगातार वर्षाका कारण देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ ।
देशभरीका प्राय जसो कच्ची सडकहरु साना-ठुला पहिरो र हिलाम्मे भएर अवरूद्ध हुँदा थप जनजीवन कष्टकर बन्न थालेको छ । डोटीमा पनि जेठ ३० गते रातीदेखिको लगातारको वर्षातका कारण ग्रामीण सडकहरु हिलाम्मे भएर सवारी आवतजावत गर्न नसकिने गरि प्रभावित भएका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरले देश आक्रान्त भइरहेका बेला अधिकांश ग्रामीण कच्ची सडकहरु अवरुद्ध हुँदा उपचार लगाएत अन्य अत्यावश्यक काममा आउजाउ गर्न कठिनाइ भएकाले पनि जनजीवन बढी कष्टकर बन्दै गएको हो ।
जसका कारण जटिल स्वास्थ्य समस्या भएका बिरामीले समयमै उपचार सुविधा नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने खतरा बढेको छ ।
अविरल वर्षाका कारण मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीमा आएको बाढीले ८ जनाको ज्यान गएको दु:खद खबर छ । डोटीमै पनि के आई सिंह गाउँपालिका ३ बासुदेवीमा बुधबार पहिरोमा परेर एक जनाको निधन भैसकेको छ भने दुई जना घाइते भएका थिए ।
यस्तै देशको अन्य विभिन्न भागमा जनधनको क्षति भएका समाचारहरु आइरहेका छन् । तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् ।
आज विहीवार पनि देशका केही भुभागमा मौसम बदली भई पानी पर्ने र बाढी पहिरो जस्ता विपदले जनधनको क्षति हुन सक्ने भएकाले आवश्यक सर्तकता अपनाउन मौसमविदहरूले सुझाएका छन् ।

Leave A Reply

Your email address will not be published.