इडिसीद्वारा जिल्ला अस्पताल डोटीलाई फेरि स्वास्थ्य सामाग्री सहयोग
भागरथी मडै/डोटी ।
सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि मंगलबार जिल्ला अस्पताल डोटीलाई फेरि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोभिड-१९ आपत्कालिन प्रतिकार्यका लागि एक्सनएड नेपालसंगको सहकार्यमा इडिसीले आईसोलेशन व्यवस्थापन र स्वास्थ्यकर्मिहरुको लागी सहयोग स्वरूप व्यक्तिगत सुरक्षा सामाग्री जिल्ला अस्पताल डोटीलाई हस्तान्तरण गरेको हो ।
जस अन्तरगत पिपिसेट १० थान, ग्लोब्स १० प्याकेट, फेस शिल्ड १०० थान, सेनिटाईजर १० लिटर, मास्क १० प्याकेट, पल्स अक्सोमिटर १० थान, सेनिटरी प्याड १०० प्याकेट, प्लाष्टिक कुर्चि ५ वटा, डस्टविन १ वटा, एउटा हातधुने कर्नर सहित रु. १ लाख १२ हजार ८ सय ७ बराबरका सामाग्री प्रदान गरिएको जनाइएको छ ।
इडिसीका कार्यक्रम संयोजक केशव परियारले ती सामाग्रीहरु जिल्ला अस्पताल व्यवस्थापन समिति डोटीका अध्यक्ष यज्ञराज जोशीलाई हस्तान्तरण गरेका हुन् ।
यसपूर्व पनि उक्त संस्थाले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग, कोभिडका संक्रमित बिरामीहरुको लागि २१ दिनसम्म खाना र नास्ताको व्यवस्थापन, अक्सिजन सिलिण्डर रिफिल गर्ने र स्वास्थ्यकर्मिहरुको लागि व्यक्तिगत सुरक्षा सामाग्रीहरु पनि सहयोग गरेको थियो । संस्थाबाट गरिएको सहयोग कोरोना रोकथामको लागि महत्वपूर्ण सहयोग भएको भन्दै अस्पतालका अध्यक्ष जोशीले सहयोगी संस्थालाई धन्यवाद दिए ।